उद्यम मार्फत स्वरोजगारको बाटोमा जाने विश्वास बढेको युवाहरुको भनाई

सुर्खेत, ३ फागुन (जागरण) । सुर्खेत वीरेन्द्रनगरका युवाहरुले आफुहरु उद्यम मार्फत स्वरोजगारको बाटोमा जाने विश्वास बढेको बताएका छन ।
सेभ द चिल्ड्रेनको सहयोग र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा समाज जागरण केन्द्र स्याक नेपालले संचालन गरेको पावर परियोजना अन्तरगत आज सम्पन्न उद्यमशिलता सम्बन्धी पाँच दिने तालिममा सहभागी भएका उनिहरु यस्तो बताएका हुन ।
उनिहरुले पाँच दिनसम्म व्यवसायिक योजना र कुन उद्यम गर्दा फाइदा हुन्छ भन्ने विषयमा सिकाई भएको भन्दै अब सिकेका सीप व्यवहारमा लागु गर्ने बताएका हुन ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का रिदम कठायतले तालिमबाट सिकेका कुरा व्यवहारमा लागु गर्ने भन्दै आफुले संचालन गरिरहेको व्यवसायलाई अझै फरक तरिकाले संचालन गर्ने बताउनुभयो ।
अर्का सहभागी वीरेन्द्रनगर १२ कै पार्वती नेपालीले पनि अब नयाँ व्यवसायिक योजनाका साथ सफल उद्यमी बन्ने उर्जा मिलेको बताउनुभयो । अन्य सहभागीहरुले पनि आफ्नै देशमा केही गरेर उद्यमी बन्ने बताएका छन ।
तालिमको समापन कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष लोक प्रसाद चालिसेले भोलिदेखि आफ्नो व्यवसाय शुरु गर्न सुझाव दिदै त्यसको लागि सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले व्यवसाय ठाउँ र भुगोल सुहाउदो गर्न आग्रह गर्दै दृढ इच्छा शक्ती र मेहेनतबाट नै मानिस सफल हुने बताउनुभयो ।
कार्यक्रममा समाज जागरण केन्द्र (स्याक) नेपालका सल्लाहाकार सदस्य नवराज खड्का, कार्यकारी निर्देशक टिकाराम आचार्यको सहभागिता थियो । उद्यमशिलता सम्बन्धी तालिम वडा नम्बर ७ र १२ का २४ जनालाई दिइएको हो ।