स्थानीय तह निर्वाचनः कर्णाली प्रदेशमा सात हजार बढी म्यादी प्रहरी भर्ना गरिँदै

भावना राना ।
सुर्खेत, ७ चैत (जागरण) । स्थानीय तह निर्वाचनका लागि कर्णाली प्रदेशमा सात हजार बढी म्यादी प्रहरी भर्ना गरिने भएको छ ।
निर्वाचन सुरक्षाको लागि कर्णाली प्रदेशभर ७ हजार ७ सय १३ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।
जसअन्तरगत सुर्खेतमा १ हजार २ सय ६१, सल्यानमा १ हजार ७३, दैलेख ८ सय ९३, रुकुमपश्चिम ६ सय ७७, जाजरकोट ७८४, कालिकोट ८ सय ४ जना म्यादी प्रहरी खटाइने छ ।
यस्तै, हुम्लामा ४ सय १६, जुम्ला ७ सय ६८, मुगु ४ सय ६९, डोल्पा ५ सय ६८ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
म्यादी प्रहरीका लागि योग्यता पुगेको व्यक्तिले चैत ११ गतेसम्म सम्ममा आफ्नो आवेदन दिन सक्ने छन ।
इच्छुकले जिल्ला प्रहरी कार्यालयमा गएर दरखास्त फाराम लिन र पेस गर्न सक्ने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले म्यादी प्रहरीका लागि आवेदन दिन सक्ने छन् ।
चैत १५ म्यादी प्रहरीका लागि छनोट सुरु हुने र २२ गते नतिजा सार्वजनिक गरिने जनाइउको छ । छानिएका म्यादी प्रहरीलाई चैत २८ मा प्रशिक्षण दिइनेछ ।
निर्वाचन अवधिमा म्यादी प्रहरीले ४० दिन काम गर्नु पर्नेछ । यो अवधिमा सरकारले एक म्यादी प्रहरीलाई प्रहरी जवान सरहको आधारभूत मासिक तलब (२२ हजार ६ सय ८० रुपैयाँ) ४० दिनको ३० हजार २ सय ४० रुपैयाँ, खाद्यान्नका लागि एकमुष्ठ ७ हजार २ सय र पोशाकका लागि ६ हजार रुपैयाँ दिनेछ ।