कर्णाली प्रदेशमा क्षयरोगका विरामी घट्दै

कर्णाली प्रदेशमा क्षयरोगका विरामी घट्दै गएको देखिएको छ ।
विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामास्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश र स्वास्थ्य सेवा कार्यालय सुर्खेतले आज आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा क्षयरोगका बिरामी घट्दै गएको तथ्याङ्क प्रस्तुत गरिएको हो ।
चालु आर्थिक बर्षको ६ महिनासहित चार आर्थिक बर्षको तथ्याङ्क अनुसार प्रदेशभर ६ हजार एक सय ७४ जना क्षयरोगका बिरामी फेला परेका छन ।
जस अन्तरगत आर्थिक बर्ष २०७४÷०७५ मा १६ सय ३२ जना बिरामी फेला परेका थिए भने आर्थिक बर्ष २०७५÷०७६ मा १३ सय ७४ बिरामी फेला परेको थिए ।
त्यसैगरी, आर्थिक बर्ष २०७६÷०७७ मा १२ सय ३६ क्षयरोगका बिरामी भेटिएकोमा गत आर्थिक बर्षमा ११ सय ९३ जना क्षयरोगी पत्ता लागेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका क्षय कुष्टरोग अधिकृत पदम केसीले जानकारी दिनुभयो ।
उहाका अनुसार चालु आर्थिक बर्षको ६ महिनामा ७ सय ३९ जना बिरामी फेला परेका छन ।
चालु आर्थिक बर्षको ६ महिनासम्म प्रदेशका १० जिल्ला मध्य सबैभन्दा धेरै सुर्खेतमा २ सय ८९ जना क्षयरोगका बिरामी भेटिएका छन भने सबैभन्दा कम हुम्लामा ४ जना मात्र बिरामी भेटिएका छन ।
यस्तै, सल्यानमा एक सय ९ जना, रुकुम पश्चिममा ८० जना, जाजरकोटका ५५ जना, दैलेखमा ७९ जना, कालिकोटमा ४१ जना क्षयरोगका बिरामी भेटिएको तथ्याङ्कमा जनाइएको छ ।
त्यसैगरी, मुगुमा १८ जना र डोल्पामा २९ जना बिरामी पत्ता लागेको निर्देशनालयले जनाएको छ ।
यसैबिच, कर्णालीका २ पालिकासहित देशभरका २० पालिकामा क्षयरोग उन्मुलन घोषणा गर्ने तयारी समेत गरिएको निर्देशनालयले जानकारी दिएको छ ।
देश संघियतामा गएपछि स्वास्थ्य क्षेत्रमा जनशक्ती बढेको भन्दै क्षयरोग लाग्न नदिन गरिएका सचेतनाका कार्यक्रमले बिरामीको संख्या घटेको जनाइएको छ । तथापी अझैपनि ग्रामीण क्षेत्रमा बिरामी स्वास्थ्यको पहुँचमा नहुँदा क्षयरोगका बिरामी पत्ता लाग्न नसकेको बताइन्छ ।
यसैलाई मध्यनजर गर्दै आफुहरुले महिला स्वास्थ्य स्वयमसेविका मार्फत सचेतनाका कार्यक्रमसँगै अन्य प्रयास पनि गरिएको केसीले जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रबिन खड्काले क्षयरोग निवारणका लागि सबै क्षेत्रबाट लगानी बढाउनुपर्ने बताउनुभयो ।
क्षयरोगका लक्षणका बारेमा गाउँगाउँसम्म जनचेतना पुर्याउन आवश्यक रहेको भन्दै उहाले यसको लागि संचार माध्यमको भुमीका धेरै हुने उहाको भनाई छ ।
निर्देशनालयले भोली पनि विभिन्न सचेतनाका कार्यक्रमहरु संचालन गर्ने जनाएको छ ।