कर्णालीबाट म्यादी प्रहरीमा २१ हजार आवेदन

भावना राना ।
सुर्खेत, १५ चैत ।
कर्णालीमा म्यादी प्रहरी बन्नका लागि करिब २१ हजारले आवेदन दिएका छन् ।
आगामी वैशाख ३० मा हुन गइरहेको स्थानीय चुनावका लागि प्रहरीले कर्णाली प्रदेशमा ७ हजार ७ सय १३ जनाको संख्यामा म्यादी माग गर्दै आवेदन खुलाएको थियो ।
चैत ६ देखि १२ गतेसम्म आवेदन खुला गरिएकोमा उक्त अवधिमा २१ हजार २ सय ५४ जनाबाट आवेदन आएको कर्णाली प्रदेश प्रहरी कार्यलयको तथ्याङ्कले जनाएको छ ।
आवेदन आएकामध्येबाट अब म्यादी प्रहरी छनौट गरिने प्रहरीले जनाएको छ ।
सबै भन्दा धेरै सुर्खेतमा ५ हजार १ सय ७२ र सबैभन्दा कम हुम्लामा ५ सय २४ जनाले आवेदन फारम भरेका छन् । रुकुमपश्चिममा २ हजार १०, सल्यानमा ३ हजार ४ सय ८, डोल्पामा ७ सय ४७, जुम्लामा २ हजार २ सय ८५, मुगुमा १ हजार ३७ जना रहेका छन् ।
यस्तै दैलेखमा २ हजार ६ सय ७३, कालिकोट १ हजार ३ सय ४२, जाजरकोटमा २ हजार ५६ गरि जम्मा २१ हजार २ सय ५४ जनाले आवेदन दिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
चुनावमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मी कम हुने भएपछि म्यादी प्रहरी राख्न लागिएको हो । विगतका चुनावमा पनि म्यादी प्रहरी राखिएका थिए ।
म्यादी प्रहरीको लागि १८ वर्ष नाघेको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ । म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिनसम्मको हुने प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सेवा सुविधा स्वरूप म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरहको हुने जनाएको छ । म्यादी प्रहरीको तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्न बापत एकमुष्ठ ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ दिने भएको हो ।