भगवतीमाई गाउँपालिकाका अध्यक्ष थापा एमालेमा प्रवेश


जागरण संवाददाता
सुर्खेत, १८ चैत ।
केही महिनाअघि नेकपा एकीकृत समाजवादी रोजेका दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा पुन एमालेमै फर्किनुभएको छ ।
२०७४ सालको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित थापाले एमाले विभाजनका बेलामा एकीकृत समाजवादीमा सनाखत गराएका थिए । शुक्रबार पुन उनी एमालेमै फर्किएका हुन् । थापालाई एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह, जिल्ला अध्यक्ष रविन्द्र शर्मा र एमालेबाट प्रदेशसभा सदस्य शुशिल कुमार थापाले भगवतीमाई गाउँपालिकाको केन्द्र वेसतडामा पुगेर एमालेमा प्रवेश गराउनुभएको हो । एमालेमा प्रवेश गरेपछि थापाले बीचमा केही भ्रममा परेर समाजवादी रोजेपनि जनताको सच्चा पार्टी एमाले नै हो भन्ने निश्कर्षका साथ पुन फर्किएको बताउनुभएको छ । एमाले कर्णाली प्रदेश अध्यक्ष शाहले विगतमा भुलबस पार्टी छोडेर पछुताएका सबैलाई एमालेमा फर्कन आग्रह गर्नुभएको छ ।