
सुर्खेत, २२ चैत ।
कर्णाली प्रदेश सभासदस्यहरुले आगामी निर्वाचनमा आ–आफ्ना दलका घोषणा पत्रमा छाउपडि न्यूनीकरणसम्बन्धी प्रतिबद्धता राख्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
आज प्रदेशसभामा वातावरण कृषि तथा विकास केन्द्र केडले आयोजना गरेको आङ खस्ने सवाल र छाउपडी प्रथा सम्बन्धी प्रदेशसभा सदस्यहरुसंगको नीतिगत अन्तरक्रियामा प्रदेशसमा सदस्यहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रदेशसभा उपप्रमुख पुष्पा घर्तीले छाउपडी न्यूनीकरणका लागि अहिलेसम्म संघ संस्थाहरुले काम गरेको भएपनि सरकार प्रर्याप्त काम गर्न नसकेको भन्दै आगामी दिनमा कार्यक्रम बनाउन पहल गर्ने बताउनुभयो । यस्तै पूर्व सामाजिक विकास मन्त्री एवं नेकपा एमालेका सांसद दल रावलले राजनीतिक दलहरुले चुनावी घोषणापत्रमै छाउपडीको सवाल उल्लेख गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीले घोषणा पत्रको तयारी गरिरहेको र त्यसमा छाउपडीको सवाललाई पनि उल्लेख गर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य झोवा विकले छाउपडी महिलाहरुको मात्र नभई पुरुषको पनि समस्या भएको भन्दै यसलाई पुरुषहरुले पनि गम्भिर रुपमा लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा केडका कार्यकारी निर्देशक समिता प्रधानले सरकारको प्राथमिकतामा आङखस्ने समस्या र छाउपडी न्यूनीकरणको सवाल पर्न नसकेको बताउनुभयो । आङखस्ने समस्या भएका महिलाहरुलाई उपचारमा आउनका लागि यातायात भाडा लगायतका सहुलियत दिनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा छाउपडी र आङखस्ने समस्या तुलनात्मक रुपमा कम भएपनि अझै न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ ।
