कर्णाली प्रदेशमा ६९ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण मात्रा खोप, वीरेन्द्रनगरलाई कोरोनाविरुद्धको पूर्ण खोप पालिका घोषणा गरिँदै

सुर्खेत, २४ चैत (जागरण) । सुर्खेत वीरेन्द्रनगर नगरपालिकालाई भोली कोभिड १९ विरुद्धको पूर्ण खोप पालिकाको रुपमा घोषणा गर्न लागिएको छ ।
विशेष कार्यक्रमको आयोजना गरि पालिका कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त पालिका घोषणा गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
घोषणासँगै वीरेन्द्रनगर नेपालकै तेश्रो र कर्णालीको पहिलो कोरोनाको खोपयुक्त पालिका हुने नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
९५ प्रतिशभन्दा धेरैले खोप लगाएको खण्डमा खोपयुक्त मानिन्छ । वीरेन्द्रनगरमा भने एक सय २० प्रतिशतले खोप लगाइसकेकोले खोप युक्त पालिका घोषणा गर्न लागिएको स्वास्थ्य शाखाका भुपेन्द्र गिरीले कर्णाली रैबारलाई बताउनुभयो ।
यसैबिच, कर्णाली प्रदेशभर ६९ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्ध खोपको दुबै मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन् ।
हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन् । निर्देशनालयको तथ्याङ्कअनुसार एक लाख सात हजार ६ सय ८१ जनाले बुस्टर डोज लगाएका छन ।
हाल सबै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ । कर्णालीमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको छ ।
पछिल्लो समय कर्णालीमा कोरोना सङ्क्रमणदर न्यून छ । ६ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको निर्देशनालयले जनाएको छ ।