सुर्खेत, २५ चैत (जागरण) । कर्णाली प्रदेशमा पनि आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने विषयमा गठबन्धनका नेताहरु छलफलमा जुटेका छन ।
जाजरकोट, सुर्खेत र दैलेख लगायतका अन्य जिल्लाहरुमा तालममेल गरेर निर्वाचनमा जाने निर्णय भएको गठबन्धनका नेताहरुले बताएका छन ।
केन्द्रीय निर्णय अनुसार प्रदेशका अन्य जिल्लाहरुमा पनि यस विषयमा छलफल भइरहेको उनिहरुको भनाई छ ।
दैलेखमा चार दलले चुनावी तालमेल गर्ने निर्णय गरेका छन । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच दैलेखमा चुनावी तालमेल गर्ने निश्चित भएको हो ।
आज बसेको सत्ता गठबन्धन दलको बैठकलेसंयुक्त अपिल जारी गर्दै जिल्लाका ११ वटै स्थानीय तहका सबै ९० वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको हो । यस्तै, प्रदेशको राजधानी जिल्ला सुर्खेतमा सत्तारुढ पाँच दलले तालमेल गर्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी, नेकपा एस, जसपा र जनमोर्चाले सुर्खेतका ९ वटै पालिकामा गठबन्धन बनाएर जाने निर्णय गरेका हुन् ।
नेकपा एसका अध्यक्ष मोहन बडुवालका अनुसार सबै दलबाट १० जनाको संयन्त्र पनि बनाउने निर्णय गरिएको छ । यस्तै, गठबन्धनको मूल मर्म अनुसार अघि बढन कायकर्तालाई निर्देशन समेत दिइएको छ ।