वीरेन्द्रनगर कोरोना विरुद्धको पूर्ण खोप पालिका

सुर्खेत, २५ चैत (जागरण) । सुर्खेत वीरेन्द्रनगर नगरपालिकालाई कोभिड १९ रोग विरुद्धको पूर्ण खोप पालिका घोषणा गरिएको छ । आज एक औपचारिक कार्यक्रमकाबीच वीरेन्द्रनगरलाई पूर्ण खोप पालिका घोषणा गरिएको हो ।
वीरेन्द्रनगर कोभिड बिरुद्धको खोप पूर्ण पालिका घोषणा हुनेमा कर्णाली प्रदेशकै पहिलो पालिका बनेको छ ।
खोप लगाउने उमेर समूह १२ बर्ष माथिका एक सय २० प्रतिशतले खोप लगाएको वीरेन्द्रनगर नगरपालिकासंग तथ्यांक छ । बाहिर जिल्लामा ठेगाना भएपनि अस्थायी रुपमा वीरेन्द्रनगरमा बसोबास गरी खोप लगाएकाहरुलाई समेत जोड्दा सय प्रतिशत भन्दा बढीले खोप लगाएको नगर प्रमुख देवकुमार सुवेदीले बताए ।
प्रदेश राजधानी तथा अन्य जिल्लाको नाका समेत रहेको वीरेन्द्रनगरमा कोभिड १९ को पहिलो र दोस्रो लहरमा संक्रमण दर उच्च थियो । बन्दा बन्दीदेखि खोपयुक्त पालिका घोषणासम्म ल्याइपु¥याउदा नगरपालिकाले धेरै चुनौती सामना गर्नुपरेको उपप्रमुख मोहनमाया ढकालले बताइन् ।
कोभिड १९ रोग विरुद्धको पूर्ण खोप पालिका घोषणा कार्यक्रमलाई उद्घाटनपछि बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाले वीरेन्द्रनगरबाट अन्य पालिकाहरुले पनि सिक्नुपर्ने बताए । .
यस्तै प्रदेशसभा सदस्य पद्मा खड्काले कोभिड–१९ महामारीले आकस्मिक रुपमा आउने विपत्लाई सामाना गर्न स्थानीय सरकारले प्रभावकारी योजना बनाउनुपर्छ भन्ने सिकाइ भएको बताइन् । उनले स्थानीय सरकारले विपत प्रतिकार्यका लागि पूर्व योजना बनाउन आवश्यक रहेको औँल्याइन् ।
कार्यक्रमका अवसरमा कोभिड खोप अभियानका क्रममा सहयोग गर्ने कर्मचारी, महिला स्वास्थ्य स्वंसेविका तथा साझेदार संघ संस्थाहरुलाई सम्मान पनि गरेको छ।
यसैबिच, कर्णाली प्रदेशभर ६९ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्ध खोपको दुबै मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन् ।