मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउछौः मुख्यमन्त्री शाही

सुर्खेत, २८ चैत (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित र पारदर्शी बनाउँदै लैजाने बताउनुभएको छ ।
उहाले नेता, कार्यकर्ता र पहुँचवालाको भनसुनका आधारमा योजना तथा बजेट हाल्न नसकिने स्पष्ट पार्नुभयो ।
जुम्लामा आज आयोजित मुख्यमन्त्री रोजगार कार्यक्रम विषयक अन्तक्र्रियामा मुख्यमन्त्री शाहीले अति विपन्न नागरिकलाई प्रत्यक्ष लाभ हुने गरी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाका अनुसार वडा तहले निर्णय गरेर पाँचवटा योजना गाउँपालिकामा पठाउने, गाउँपालिकाले निर्वाचित प्रदेशसभा सदस्य संयोजकत्वको समितिमा जस्ताको तस्तै वडाका योजना पठाउनुपर्छ ।
अनि मात्रै समितिले पाँचमध्ये छानेर तीन योजना मुख्यमन्त्री कार्यालयमा पठाउने छ । मुख्यमन्त्री शाहीले विधि र प्रक्रिया नजान्दा मुख्यमन्त्री रोजगार कार्यक्रमको रकमले खासै परिवर्तन ल्याउन नसकेको बताउनुभयो ।
मुख्यमन्त्री रोजगार कार्यक्रमको करोडौँ रकम जिल्लामा आउने भए पनि गाउँमा कुनै काम हुनसकेको छैन ।