सुर्खेत, २९ चैत (जागरण) । लागु औषध न्युनिकरणको लागि आगामी नीति तथा कार्यक्रमबाट दिगो योजना बनाइनुपर्ने कर्णाली प्रदेशका सरोकारवालाहरुले सुझाव दिएका छन ।
उनिहरुले पछिल्लो समय दुव्र्यसनी दर ग्रामीण क्षेत्रहरुसम्म बढ्दै गएको भन्दै न्युनिकरणका लागि तिनै तहका सरकारहरुले नीति कार्यक्रम र बजेट मार्फत दिगो योजना बनाउनुपर्नेमा जोड दिएका हुन ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका तथ्याङ्क अनुसार प्रदेशमा गत आर्थिक बर्षमा एक सय ३६ जना लागु औषध कारोबारी पक्राउ परेका थिए भने यो आर्थिक बर्षको ९ महिनामा एक सय ४३ जना पक्राउ परेका छन । ति मध्य सबैभन्दा धेरै सुर्खेतबाट पक्राउ परेका छन ।
यही तथ्याङ्कलाई आधार मान्दा पनि लागु औषध दुव्र्यसनीको दर बढेको भन्दै विद्यालय तहदेखि नै विभिन्न सचेतनाका कार्यक्रम संचालन गर्नेगरी कार्यक्रम ल्याउनुपर्ने उनिहरुको सुझाव छ ।
सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले लागु औषधको दर न्युनिकरण गर्न विद्यालय तहदेखि नै सचेतनाका कार्यक्रम संचालन गर्नुपर्ने भन्दै त्यसको लागि स्थानीय सरकारको महत्वपूर्ण भुमीका हुने बताउनुभयो ।
उहाले पछिल्लो समय अविभावकहरुले बालबालिकालाई होस्टेलमा राख्ने परम्परालाई न्युनिकरण गर्नेगरी योजना बनाउनुपर्ने कर्णाली रैबार मार्फत सुझाव दिनुभयो ।
उहाले गाउँ गाउँसम्म जनचेतनाका कार्यक्रम संचालन गर्नुपर्ने भन्दै लागु औषध दुव्र्यसनीबाट रिकभर भएकाहरुको अनुभव पनि लिन आवश्यक रहेको बताउनुभयो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका सह प्रवक्ता गणेश बहादुर बमले निशेधात्मक र निरोधात्मक तरिकाले मात्र लागु औषध न्युनिकरण नहुने भन्दै यसको लागि सबै पक्ष एक भएर लाग्नुपर्ने सुझाव दिनुभयो ।
उहाले अहिले पक्राउ परिरहेका व्यक्ती भनेको कारोबारमा संङ्लग्न मात्र रहेको र यसको उत्पादन केन्द्रसम्म अनुसन्धानलाई बढाउनेगरी योजना बन्नुपर्नेमा जोड दिनुभयो ।
लागु औषध न्युनिकरणको लागि प्रदेशन नम्बर एकमा म अगाडी बढ्छु नामक कार्यक्रम सबै विद्यालयमा लागु भएको भन्दै कर्णाली प्रदेशमा पनि त्यसको सिको गर्न सके धेरै हदसम्म यसको न्युनिकरण गर्न सकिने सुझाव दिनुभयो ।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद पाण्डेले लागु औषध न्युनिकरण गर्ने जिम्मा प्रशासनको मात्र सोच्ने गरिएको भन्दै तिनै तहका सरकाहरुहरुबिचमा सहकार्य गरेर मात्र यस सम्बन्धीका काम गर्नेगरी कार्यक्रम संचालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
यता, कर्णाली प्रदेश सरकारले लागु औषध न्युनिकरणको लागि ठोस योजना बनाउने तयारी गरेको बताएको छ ।
आगामी योजनाका बारेमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले पाठ्यक्रम नै निर्माण गरेर विद्यालय तहदेखि नै पठनपाठन बनाइने बताउनुभयो ।