मुख्यमन्त्री रोजगार कार्यक्रमः काम गरेका व्यक्तीले एक बर्षदेखिको रकम पाएनन्

सुर्खेत, १ बैशाख (जागरण) । गाउँमै रोजगारी दिनेगरी कर्णाली प्रदेशमा संचालन गरिएको मुख्यमन्त्री रोजगार कार्यक्रमको रकम नपाएको गुनासो मजदुरहरुले गरेका छन ।
कर्णाली रैबारको जनतासँग जनप्रतिनिधिमा गुनासो गर्दै उनिहरुले एक बर्ष अगाडी देखिको रकम नपाएको गुनासो गरेका हुन ।
उनिहरुले रोजगारी दिने भनेर आफुहरुलाई काममा लगाइएको तर उल्टै काम गरेको पैसा नपाउँदा घर खर्च चलाउन समेत समस्या भएको गुनासो गरेका छन ।
विशेष गरी दैलेखमा मुख्यमन्त्री रोजगार कार्यक्रममा काम गरेका व्यक्तीहरुले रकम पाउन नसकेका हुन ।
भैरवी गाउँपालिकाका रत्न बहादुर आचार्यले एक बर्षदेखि आफुले काम गरेको रकम नपाएको भन्दै घरखर्च टार्न समेत समस्या भएको बताउनुभयो । उहाले आफुले काम गरेको रकम कहिले आउने पाउने हो ? भनेर प्रश्न गर्नुभयो ।
भैरवी गाउँपालिकाकै रमेश भुसालले पनि मुख्यमन्त्री रोजगार कार्यक्रममा काम गरेको एक बर्षदेखिको रकम पाउनुभएको छैन । उहाले यस विषयमा गाउँपालिकामा ताकेता गर्दा रकम फ्रिज भइसकेको बताउने गरेको गुनासो गर्नुभयो ।
दैलेख दुल्लु नगरपालिकाका धन बहादुर शाही पनि काम गरेको रकमको लागि पूर्वाधार कार्यालयमा पुगेको भएपनि एक हप्ता दुइ हप्ता भन्दै टार्ने गरेको बताउनुभयो ।
यता, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता केशव प्रसाद उपाध्ययले भने यस विषयमा बुझेर कुरा गर्ने केही दिन अघि कर्णाली रैबारसँग बताउनुभएको थियो ।