
जागरण
सुर्खेत,८ बैशाख ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरु उमेद्वार छनौटको रापतापमा छन् । उमेद्वार बन्न पहिले निर्वाचित बहालवाला जनप्रतिनिधिदेखि नयाँ व्यक्तिको उत्तिकै दबाव छ । यस्तो बेला उमेद्वार बन्ने एकले अर्कालाई कसरी कम्जोर पारेर आफूले टिकट पाउने भन्ने छिनाझम्टी हुनेगर्दछ । यस्तैबेला जाजरकोटका एक वडाअध्यक्ष मोटरसाइकल चोरेको अभियोगमा पक्राउ परेका छन् । ।
जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल पुन मोटर साइकल चोरीको अभियोगमा पक्राउ परेका हुन् । मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेपछि फेरी वडाअध्यक्षको उमेद्वार बन्ने पुनको सपना चकनाचुर भएको छ । यही बैशाख ४ गते वडा नं. १ को कल्पतस्थित सडक बाटोमा सवारी लु ५९ प ०२१७ नम्बरको १५० सि.सि.को पल्सर मोटरसाइकल पार्किङ गरी राखेको छ भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट गएको प्रहरी टोलीले उक्त मोटरसाइकल नियन्त्रणमा लिएको थियो । अनुसन्धान गर्दै जाँदा उक्त मोटरसाइकल वडाअध्यक्ष पुनले ल्याई पार्किङ गरेको भन्ने खुलेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिए । उनका अनुसार पुनलाई प्रहरी टोलीले बैशाख ६ गते पक्राउ गरेको हो । हाल जिल्ला अदालतबाट दिन ७ को म्यादथप गरी थुनामा राखेर अनुसन्धान भइरहेको छ ।
नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष जितेका पुनले लामो समयदेखि उक्त मोटरसाईकल चलाउँदै आएको स्थानीय बताउँछन् । कागजपत्र नभएको मोटर साइकल चलाएपनि वडाध्यक्ष भएकाले प्रहरीले पनि खासै केरकार गरेको थिएन । तर निर्वाचन नजिकिदै गर्दा उनी अहिले प्रहरी हिरासतमा छन् । वडाध्यक्षमा फेरी दोहरिने इच्छा राखेका उनलाई प्रतिस्पर्धीहरुले नै सूचना दिएको स्थानीयको अनुमान छ ।
