स्थानीय निर्वाचनः कर्णालीका ७९ वटै पालिकामा निर्वाचन अधिकृत र कार्यालय स्थापना


सुर्खेत, ९ बैशाख (जागरण) । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत हरेक जिल्लामा मुख्य निर्वाचन अधिकृत र स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तालिका अनुसार आज कर्णालीका दश जिल्ला र ७९ वटै स्थानीय तहमा कार्यालय स्थापन गरिएको छ ।
कर्णालीका १० वटै जिल्लाका जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र बाँकी स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले कर्णाली सबै पालिकामा निर्वाचन कार्यालय स्थापना गरिको र जनशक्ति परिचलान लगायतका काममा लागिरहेको कर्णाली रबैकारलाई जानकारी दिनुभयो ।
मुख्य निर्वाचन कार्यालयहरुबाट मतपत्र वितरण, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अनुशिक्षण लगायतको काम हुने छ भने उम्मेदवारको मनोनयन दर्ता लगायतका कार्य भने सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछन् ।
यस्तै स्थानीय तह निर्वाचनका लागि कर्णालीमा ९०७ मतदान स्थल रहेकोमा त्यस मध्य २९८ वटा मतदानस्थल सुरक्षाका दृष्टिकोणले अति संवेदनशील क्षेत्रमा परेका छन् । ४११ मतदान स्थल संवेदन र १९८ स्थल सामान्य रहेका छन् ।
सुरक्षा संवेदनशिलताका आधारमा बर्गिकरण गरिए अनुसार सुरक्षा निकायले सुरक्षाकर्मी परिचालन गर्ने प्रदेश निर्वाचन कार्यालयमा प्रमुख चालिसेले बताउनुभयो ।
कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार दश वटै जिल्ला मध्य सुर्खेतमा सबैभन्दा बढी १३८ मतदान स्थल रहेकोमा २० स्थल अतिसंवेदनशिल ८५ वटा संवेदनशिल र ३३ वटा सामान्य छन् भने हुम्लामा सबैभन्दा कम ५२ वटा मतदान स्थल रहेकोमा ९ वटा अति संवेदनशिल ३० संवेदनशिल र २३ सामान्य स्थल छन् । तर सुरक्षा संवेदनशिलताका आधारमा सबैभन्दा बढी कालिकोट देखिएको छ । कालिकोटमा ७३ स्थल अति संवेदनशिल ३० स्थल संवेदनशिल र १३ स्थान सामान्य छन् ।
दैलेखमा ४६ अति संवेदनशिल ५५ संवेदनशिल र ३५ सामान्यगरी १३६ मतदान स्थल रहेका छन् । सबै भन्दा सुरक्षित जिल्लाका रुपमा भने जाजरकोट एक नम्बरमा देखिएको छ । जाजरकोटमा अति संवेदनशिल १ संवेदनशिल ५४ र सामान्य ३० गरी ८५ मतदान स्थल रहेका छन् । सल्यानमा ४१ अति संवेदनशिल ५७ संवेदनशिल र १६ सामान्य गरी ११४ मतदान स्थल रहेका छन् ।
रुकुम पश्चिममा १९ अति संवेदनशिल, ४५ संवेदनशिल र १२ सामान्यगरी ७६ मतदान स्थल रहेका छन् । डोल्पामा २३ अति संवेदनशिल २६ संवेदनशिल र १७ सामान्य गरी ६६ स्थल रहेका छन् । जुम्लामा ४० अति संवेदनशिल १४ संवेदनशिल र २५ सामान्यगरी ७९ स्थल छन् । मुगुमा २६ अति संवेदनशिल १९ संवेदनशिल र १६ सामान्यगरी ६१ मतदान स्थल रहेका छन् ।
अहिले प्रदेशका सबै जिल्लाको अवस्था रिपोटिङ प्रहरी प्रधान कार्यालयमा गरिएको र केन्द्रबाट सुरक्षा योजना आएपछि सोही अनुसार सुरक्षाकर्मी खटाइने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी हिरा पाण्डेले बताउनुभयो ।
यस्तै दश जिल्लाका ९०७ मतदान स्थलमा १ हजार ३ सय ८५ मतदान केन्द्र रहने निर्वाचन आयोग प्रदेश कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतमा २९१, दैलेखमा २०७, जाजरकोटमा १४२, सल्यानमा २०१, रुकुम पश्चिममा १३९, डोल्पामा ६६, जुम्लामा १०२, मुगुमा ६४, हुम्लामा ५४ र कालिकोटमा ११९ मतदान केन्द्र रहने छन् ।