वीरेन्द्रनगरमा नगरस्तरीय अपांग सञ्जाल गठन


जागरण
सुर्खेत, ९ बैशाख ।
वीरेन्द्रनगर नगरपालिकामा अपांगता भएका व्यक्तिहरुको नगरस्तरीय अपङ्ग सञ्जाल गठन गरिएको छ ।
शुक्रबार वीरेन्द्रमा भएको भेलाबाट रामप्रसाद सुवेदीको संयोजकत्वमा १६ सदस्यीय सञ्जाल गठन गरिएको हो । सञ्जालमा हरेक वडाबाट एक एक जनाको प्रतिनिधित्व रहेको छ । वडा नं. १ बाट मदन कार्की, २ बाट जय बहादुर बि.क., ३ बाट नम्रता भारती, ४ बाट रेशम बस्नेत, ५ बाट बिष्णु पोख्रेल, ६ बाट टिकाराम आउजी, ७ बाट जानकी वली, ८ बाट ललितनाथ योगी, ९ बाट रत्ना राना, १० बाट बिष्णु पुरी, ११ बाट उपेन्द्र भण्डारी, १२ बाट शिला खड्का, १३ बाट संयोजक सुवेदी, १४ बाट कुलबहादुर बुढा मगर, १५ बाट लक्ष्मी बि.क. र वडा नं. १६ बाट याम बहादुर वली रहेका छन् । सञ्जालले अपांगता भएका व्यक्तिहरुको हकहित र आय आर्जनका लागि काम गर्ने संयोजक सुवेदीले बताउनुभयो ।
भेलाअघि अपांगता भएका व्यक्तिहरुका लागि स्थानीय योजना तर्जुमा प्रक्रिया सम्बन्धी अभिमुखीकरण पनि गरिएको थियो । सेभद चिल्ड्रेन बुलगारी परियोजनाको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपाल र अपांग सशक्तिकरण केन्द्र सुर्खेतको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरणमा बोल्दै समाज जागरण केन्द्र स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले अपांगमैत्री नीति तथा योजना निर्माणका लागि जनप्रतिनिधिहरुले उचित ध्यान नदिएको भन्दै आगामी दिनमा निर्वाचित हुने जनप्रतिनिधिहरुलाई त्यस तर्फ सचेत गराउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु प्रसाद शर्माले अपांगता भएका व्यक्तिहरुले अब आफ्ना एजेण्डा बोकेका उमेद्वारहरुलाई निर्वाचित गराउनुपर्ने बेला आएको बताउनुभयो ।