पालिका निर्वाचनका लागि एक लाख ४० हजारभन्दा धेरैको मनोनयन दर्ता

काठमाडौँ, १३ बैशाख (जागरण) । आउँदो ३० गते हुने पालिका निर्वाचनका लागि एक लाख ४० हजारभन्दा धेरैको मनोनयन दर्ता भएको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक लाख ४१ हजार ४ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मेयरमा तीन हजार ३ सय १८‚ उपमेयरमा दुई हजार ३६‚ अध्यक्षमा तीन हजार ३ सय ६ र उपाध्यक्षमा दुई हजार ३ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै‚ वडाध्यक्षमा ३३ हजार १ सय ११‚ महिला सदस्यमा २४ हजार २ सय ८३‚ दलित महिला सदस्यमा २१ हजार ९ सय ७९ र वडा सदस्यमा ५१ हजार ९२ जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेशगत रूपमा सबैभन्दा बढी मधेसमा ३६ हजार २ सय ७५ र सबैभन्दा कम सुदूरपश्चिममा ११ हजार ७ सय ६२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
यस्तै‚ प्रदेश–१ मा २२ हजार १ सय ९४‚ वाग्मतीमा २३ हजार ६ सय ५४ र गण्डकीमा १२ हजार ३ सय १४‚ लुम्बिनीमा २२ हजार ४ सय २१ र कर्णालीमा १२ हजार ८ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
उम्मेदवारको विरोधमा आज दाबी विरोधको उजुरी दिन सकिने छ । भोलि र पर्सि उजुरीमाथि जाँचबुझ गरिने र १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।