स्थानीय तह निर्वाचनका लागि कर्णालीका केही महिलाहरु प्रमुखमा लड्दै

सुर्खेत, १४ बैशाख (जागरण) । स्थानीय तह निर्वाचनका लागि कर्णालीका केही स्थानीय तहको प्रमुखमा महिलाको उम्मेदवारी दर्ता भएको छ ।
कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट मोहनमाया ढकालको उम्मेदवारी परेको छ ।
ढकाल यसअघि वीरेन्द्रनगरको उपमेयर हुनुहुन्थ्यो । नगरमा उपप्रमुखमा निलकण्ठ खनालको उम्मेदवारी परेको छ ।
दैलेखको नारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट निर्मला खड्का थापाको उम्मेदवारी परेको छ । कांग्रेस सभापति मणिराम रेग्मीका अनुसार गठबन्धन दलहरुको सहमती अनुसार प्रमुखमा कांग्रेसबाट खड्का र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) बाट सावित्री मल्लको उम्मेदवारी दर्ता भएको छ ।
दैलेखकै भैरवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट रिता शाहीको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसबाट उपाध्यक्षमापनि देवी भण्डारीको उम्मेदवारी परेको छ । शाही नेपाली कांग्रेस दैलेखको उपसभापति हुनुहुन्छ ।
ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा एमालेबाट लक्ष्मीदेवी शाहको उम्मेदवारी परेको छ । उपाध्यक्षमा एमालेबाट देवीराम बडुवालको उम्मेदवारी दर्ता गरेको एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले बताउनुभयो ।
यस्तै जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मनिषा कार्कीको उम्मेदवारी दर्ता भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट तारा शाहको उम्मेदवारी परेको छ ।