रुकुम पश्चिमा वाइसिएल र तरुणदलबीच झडप, तरुण दलका ७, वाइसिल २ घाइते

जागरण
सुर्खेत, २२ बैशाख ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं. ९ मा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएलको आक्रमणबाट नेपाली काँग्रेसको तरुणदलका ७ जना कार्यकर्ता घाइते भएका छन् ।
चुनाव प्रचार प्रसारका क्रममा एक अर्काप्रतिको रिसिइवीका कारण विहीबार विहान करिब सवा छ बजे माओवादी कार्यकर्ताले काँग्रेसका कार्यकर्तामाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । आक्रमणबाट तरुण दलका कृष्ण बहादुर पुन, दीर्घ बहादुर वली, वीरबहादुर वली, झुपलाल ओली, वीरबहादुर ओली, चित्र बहादुर खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको अहिले घटनास्थलमा सामान्य अवस्था रहेको प्रहरी निरीक्षक राजिप श्रेष्ठले बताउनुभयो ।
यस्तै रुकुम पश्चिमकै चौरजहारी नगरपालिका वडा नम्बर ७ मा पनि नेपाली काँग्रेस नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । वडा नम्बर ७ को कोटजहारीमा जारी वडा नम्बर ७ र वडा नम्बर ९ को संयुक्त चुनावी सभामा कांग्रेस र एमालेका कार्यकर्ताले ढुंगा हानेपछि झडप भएको माओवादीले आरोप लगाएको छ ।
बिहीबार दिउसो भएको झडपमा परी वाईसीयलका दुई जना कार्यकर्ता घाइते भएका छन् । ज्ञानबहादुर बोहरा र सुजन शर्मा घाइते भएको नेकपा माओवादी केन्द्र चौरजहारीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले भने उक्त घटना बारे जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएको छ ।