वीरेन्द्रनगरमा मतदाताको प्रश्नः घण्टाघरको सुई कहिले घुम्छ ?

सुर्खेत, २३ बैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरको घडीको सुई १० वर्षदेखि घुम्दैन । यहाँ रहेका चारवटै घडीले १०ः५० को समयमात्र देखाउँछन् ।
विसं २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो कार्यकालको पाँच वर्ष बिताउँदैछन् । उनीहरुले पनि घण्टाघरमा नयाँ घडी राख्न सकेनन् ।
यसपटकको स्थानीय तह निर्वाचनमा तिनै नेता र उम्मेदवारलाई मतदाताले सोध्ने गरेका छन्, ‘घण्टाघरको सुई कहिले घुम्छ ?’
प्रमुख राजनीतिक दलहरूले आफ्ना प्रतिबद्धतामा ठूल्ठूला आश्वासन देखाए पनि मतदाता भने जिल्लाको पहिचान बनेको पर्यटकीयस्थलमा घण्टाघरमा कम्तीमा घडी चलाउनुपर्ने माग गरिरहेका छन् ।
वीरेन्द्रनगरमा घरदैलो गरिरहेका दलहरू विशेषगरी नेपाली कांगे्रस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारलाई यही प्रश्न मतदाताले दोहोर्याउने गरेका छन् ।
वीरेन्द्रनगर–६ घण्टाघर लाइनका तिलक भण्डारीले सामान्य काम नगर्ने नेताहरूबाट ठूला–ठूला आश्वासन पूरा हुन्छन् भन्ने विश्वास नरहेको बताए ।
‘१० वर्षदेखि बन्द रहेको घडी चलाउन सक्ने जनप्रतिनिधि पाएनौँ’, उनले भने, ‘यसपटक पनि उम्मेदवारका घोषणापत्रमा यो कुरा उल्लेख भएको रहेनछ, त्यसैले भोट माग्न आउने जतिसँग घण्टाघरले कहिले पुनर्जन्म पाउँछ ? भनेर सोध्न थालेका छौँ ।’
वीरेन्द्रनगर–५ को घरदैलोमा आउनुभएका रापप्रा नगरप्रमुखका उम्मेदवार मुकुन्दश्याम गिरीलाई पनि मतदाताले यही प्रश्न तेस्र्याए । गिरीले मतदातामाझ आफू निर्वाचित भएलगत्तै नयाँ घडी राख्नुका साथै घण्टाघर क्षेत्रलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता जनाए ।
विसं २०६१ मा नगरप्रमुख तथा तत्कालीन लाटीकोइली गाउँपञ्चायतको प्रधानपञ्च भई काम गरिसक्नुभएका उनले वीरेन्द्रनगरको गुरुयोजना बमोजिम काम गर्नुपर्ने बताए । रासस….