कर्णालीमा निर्वाचन आचारसंहिता पालना भएन, स्वयम राजनितिक दल र उम्मेद्वारबाटै आचारसंहिता उल्लघन

सुर्खेत, २४ बैशाख (जागरण) । निर्वाचन नजिकिदै गर्दा राजनितिक दल विभिन्न स्थानमा उम्मेदवार र तिनका समर्थकले आचारसंहिताको उल्लङ्घन गर्ने क्रम बढेको सरोकारवालाहरुले बताएका छन् ।
उम्मेदवारी दर्तापछि सुरुका दिनमा आचारसहिंता पालना भइरहे पनि निर्वाचन नजिकिदै गर्दा आचारसंहिताको उल्लङ्घन बढेको कर्णालीका सरोकारवालाहरु बताएका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले विगतको भन्दा यो आचारसंहिता फरक ढंगले कडाइका साथ पालना गर्नु पर्ने भएपनि राजनितिक दलहरुले कार्यन्वयन गर्न नसकेको बताउनुभयो ।
निर्वाचन आचारसंहितामा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था भए पनि साउण्ड सिस्टम गाडीमा राखेर बजाउदै ओहोर–दोहोर गराएकाले भन्दै उहाँले त्यसमा राजनितिक दलहरुले आचारसंहिताको ख्याल गरे÷नगरेको प्रति ध्यानदिन निर्वाचन आयोगलाई आग्रह गर्नुभयो ।
हालसम्मको अनुगमनबाट प्राप्त तथ्यहरूका आधारमा निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरु एवम् उम्मेदवारहरूले प्रयोग गरेका सवारी साधनहरूको धेरै प्रयोग भएका, झडपका घटना अधिक मात्रामा भइरहेको पाइएको छ ।
नागरिक समाजका अगुवा पिताम्बर ढकालले पनि निर्वाचन प्रसार–प्रसारको क्रममा सबैजसो मूख्य राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङघन गरेका तथ्यहरू फेला परेका बताउनुभयो ।
उहाँले राजनीतिक दलहरूका नेतृत्व वर्गहरुबाटै आचारसहिंताको उल्लङ्घन भएको बताउनु्भयो । यता, दलहरुले पनि उम्मेदवारका प्रचार सामग्री टासिएको र भण्डा, झुण्ड्याएको र होहल्ला बढी गरेको पाइएको जनाएको छ । प्रदेश निर्वाचन कार्यालय निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसे भौतिक निमार्णका काम गर्ने गरेको पाइएकाले त्यस्ता काम नगर्न सबै स्थानीय पालिहरुलाई सूचना गरिएको जानकारी दिनुभयो ।
आचारसहिंता उल्लङ्घन भएको लिखित उजुरी नआएको भन्दै बालबालीकाको प्रयोगलगायतका केही गुनासाहरु आएकाले प्रमाणसहित लिखित उजुरी गर्न सूचना गरेको निर्वाचन अधिकारी चालिसेले बताउनुभयो ।
विभिन्न क्षेत्रमा निर्वाचन सम्बन्धिका घटनाहरु भइरहेकाले आचारसहिंता पालना गराउनका लागि जिल्लास्तरमा सर्वदलीय बैठक भइरहेका र राजनीतिक दलहरुले पनि प्रतिबद्धता जनाउने गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैबिच, नागरिकहरुले भने दलहरुले निर्वाचन जित्नको लागि झुठा आश्वासन बाडेको गुनासो गरेका छन ।
उनिहरुले विगतका निर्वाचनहरुमा पनि यस्तै झुठा आश्वासन दिएर केही काम नगरेको भन्दै अहिले पनि उस्तै आश्वासन बाड्न थालिएको बताएका हुन ।
जाजरकोटका राम बहादुर बोहोराले कर्णाली रैबारसँग गुनासो गर्दै विगतमा कार्यान्वयन नहुने प्रतिवद्धता गरेका उम्मेद्वार फेरी झुठा आश्वासन लिएर आएको बताउनुभयो ।