पूर्ण खड्काले मतदातालाई फकाउँदै भनेः विगतलाई बिर्सिएर काँग्रेसले माओवादी र माओवादीले काँग्रेसलाई भोट हाल्नुस


सुर्खेत, २६ बैशाख ।
नेपाली काँग्रेसका उपसभापती पूर्ण बहादुर खड्काले विगतका कुरा विर्सिएर काँग्रेसले माओवादीलाई र माओवादीले काँग्रेसलाई भोट हाल्नुपर्ने बताएका छन् ।
काँग्रेस माओवादी गठबन्धनले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको आमसभामा मतदाताहरुलाई फकाउँदै उपसभापती खड्काले एकले अर्कालाई विश्वास गरेर गठबन्धनलाई जिताउन आग्रह गरेका हुन् । ‘मैले सुन्दैछु केही काँग्रेसहरुले हिजो गोली हान्ने लुटपाट गर्ने माओवादीलाई कसरी भोट हाल्ने भन्नु हुन्छ अरे, अनि केही माओवादीहरुले पनि हिजो सरकारमा बसेर गोली चालनउ आदेश दिने टाउकाको मुल्य तोक्ने काँग्रेसलाई कसरी भोट हाल्ने भन्नु हुन्छ रे’ उपसभापती खड्काले भने,‘हो हिजो त्यस्तो भएको साँचो हो तर काँग्रेसका तत्कालिन सभापती गिरीजाबाबुले सहकार्यको हात अघि बढाएर प्रचण्ड बाबुरामसंग सहकार्य गरेर शान्ति प्रक्रियामा ल्याएको पनि त हो त्यसैले एकले अर्कालाई भोटहाल्न नहिच्किजाउनुस ।’ शान्ति प्रक्रियाका कतिपय काम अझै पूरा नभएको भन्दै खड्काले गठबन्धनलाई सफल पारेर शान्ति प्रक्रियालाई पनि निश्कर्षमा पु¥याउने जिकिर गरे । यस्तै गठबन्धनलाई संसदीय निर्वाचनसम्म कायम राख्ने र दुई तिहार ल्याएर संविधान संशोधन गर्ने उद्देश्य रहेको खड्काको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनलाई दश १५ बर्ष टिकाउछाँै भनेको प्रसंगलाई उल्लेख गर्दै उपसभापती खड्काले गठबन्धन कायम रहे काँग्रेसको नेतृत्व र प्रचण्ड माधव नेपालको साथले संविधान संशोधन, शान्ति प्रक्रियाको टुङ्गो लगायतका काम हुने उल्लेख गरे । उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण गठबन्धन सिर्जना भएको भन्दै गठबन्धनलाई टिकाइराख्ने दायित्व सबैका उत्तिकै हुने बताए । उनले गठबन्धनले नजिते संविधान र गणतन्त्र नै खतरामा पर्ने पनि जिकिर गरेका छन् ।
वीरेन्द्रनगरमा काँग्रेस र माओवादीबीच प्रमुख उपप्रमुख पदमा तालमेल भएको छ । प्रमुखमा काँग्रेसका उपेन्द्र खड्का र उपप्रमुखमा माओवादी केन्द्रकी शान्ति ढकाल उमेद्वार रहेका छन् ।