संघीय नेपालको पहिलो राष्ट्रपतिका लागि आज मतदान

काठमाण्डौँ, २९ फागुन (जागरण) । संघीय नेपालको पहिलो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ ।
बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संघीय संसद भवनमा राष्ट्रपति निर्वाचनको मतदान हुनेछ । त्यसपछि तत्काल मतगणना हुने संसद सचिवालयले जनाएको छ ।
राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा सांसदहरू मतदाता रहने छन् । नयाँ राष्ट्रपतिका लागि वाम गठबन्धनबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईको उम्मेदवारी परेको छ ।
स्पष्ट बहुमत रहेका वाम गबन्धनको उम्मेदवारलाई मधेशवादी दलले पनि समर्थन गर्ने घोषणा गरिसकेकाले भण्डारी दोस्रो कार्यकालका लागि दोहोरिने करिव निश्चित भएको छ ।
यसैबीच, राष्ट्रपतिको निर्वाचनमा नयाँ शक्ति पार्टी नेपाल र विवेकशिल साझा पार्टीले मतदान नगर्ने भएका छन् ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा आफुहरुको स्पष्ट अडान रहेको भन्दै नयाँ शक्तिले राष्ट्रपति निर्वाचनमा सामेल नहुने जनाएको हो । उसले संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निष्पक्ष, मर्यादापूर्ण र दलीय आग्रहभन्दा माथि हुनु पर्नेमा जोड दिएको छ ।