शैक्षिक सत्र सुरु भइसक्दा पनि कर्णालीका हिमाली जिल्लामा पाठ्यपुस्तक पुगेन

सुर्खेत, १३ जेठ (जागरण) । शैक्षिक सत्र सुरु भइसक्दा पनि कर्णालीका हिमाली जिल्लामा पाठ्यपुस्तक पुगेको छैन् । मुगुका एक सय ४० सामुदायिक तथा निजी विद्यालयका १३ हजारभन्दा बढी विद्यार्थी पाठ्यपुस्तकविनै खाली हात माथिल्लो कक्षा उक्लेका छन् ।
महाकाली नमुना माध्यामिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा सोनी शाहीले समयमै पुस्तक हात नपर्दा पढाई बिथोलिने गरेको बताउनुभयो ।
मुगुमा अन्य हिमाली जिल्लामा जस्तो इन्टरनेटको सहज पहुँच पनि छैन् । समयमै विद्यालयमा पाठ्यपुस्तक पुगे पुस्तक हेरेरै भए पनि पढ्न सकिने अर्का विद्यार्थी कर्णवीर मल्लले गुनासो गर्नुभयो ।
जिल्लाभरका विद्यार्थीका लागि पाठ्यपुस्तक खरिद गर्ने गरी २८ लाख ४९ हजार ९७ रुपैयाँ सम्बन्धित विद्यालयको खातामा पठाइसकिएको छ ।
पाठ्यपुस्तक ढुवानीको लागि नगरपालिकाले लिखित पत्र पठाउनुको साथै मौखिक रूपमा समेत पटक पटक ताकेता गरेको छायाँनाथ रारा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बिष्णुकुमार भामले बताउनुभएको छ ।