दैलेख र सुर्खेतका किशोर÷किशोरीलाई आत्मरक्षा तालिम


जागरण
सुर्खेत, १५ जेठ ।
दैलेख र सुर्खेतका किशोर÷किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा २७ जना किशोर किशोरीहरुलाई तालिम दिइएको हो । शुक्रबारदेखि सुरु भएको तालिम आइतबार समापन भएको छ । तालिमको समापनमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले नगरपालिकाले सबैलाई आभास हुनेगरी अभिभावकत्व प्रदान गर्ने बताउनुभयो । मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले छोराछोरी घर बाहिर निष्किदा कतै असुरक्षित हुन्छनकी भन्ने अभिभावकहरूलाई चिन्ता हुने गरेको भन्दै आत्मरक्षा तालिमले त्यो चिन्ता हटाउने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशिक्षक सजना सुनारले आत्मरक्षा तालिमले जोखिमपूर्ण अवस्थामा जोगाउने र अरु बेला आत्मविश्वास दिने बताउनुभयो ।

जिल्ला स्तरिय मानव अधिकार रक्षक सञ्जाल सुर्खेतका संयोजक सर्मिला विसीले आत्मरक्षा तालिमबारे समुदायस्तरमा सिकाउनुपर्ने आवश्यकता रहेको औँल्याउँदै तालिममा सहभागीहरुलाई सिकेका कुरा समुदायमा सिकाउन सुझाव दिनुभयो ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले आत्मरक्षा तालिमले यौन हिंसाजन्य घटनामा न्यूनीकरण गर्न मद्धत पुग्ने बताउनुभयो । तालिममा हिंसाका प्रकार, आत्मरक्षाको महत्व, आत्म जागरण र हिंसा न्यूनीकरण गर्न कानुनी प्रावधान लगायतका विषयमा प्रशिक्षित गरिएको थियो ।