बजेटमा भाषणमा कर्णालीका के के योजना समेटिए ?

जागरण
सुर्खेत, १५ जेठ ।
संघीय सरकारका अर्थमन्त्री जर्नादन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटमा कर्णाली प्रदेशका केही पुरानै योजनालाई निरन्तरता दिइएको छ भने केही नयाँ योजना समावेश गरिएको छ ।
कर्णाली प्रदेशमा कृषि क्षेत्र विकास कार्यक्रम गरिने बजेट मार्फत घोषण गरिएको छ । जसमा कर्णालीको फापर, कोदो, गहुँ र जौँको प्रशोदन गरिने भएको छ । अल्लो सुपारीको पात, अल्लोको कपडा उत्पादन गर्नेहरुलाई प्रोत्साहन गर्नुका साथै जडिबुटी खेतीको विमाको व्यवस्था मिलाइनेछ । कर्णालीको कागुनो चिनो, फापर, लगायतका वस्तुहरुको उत्पादनलाई बजारिकरण लागि प्रदेश सरकारसँग समन्वय गरिने पनि बजेटमा भनिएको छ ।
यस्तै, जुम्लाको कोक्ला पाटनमा हाइअल्टिच्युट ट्रेनिङ्ग सेन्टर निर्माण हुने भएको छ । आर्थिक वर्ष २०७९÷०८०को बजेट अनुसार जुम्लाको कोक्लापाटनमा हाइअल्टिच्युट एण्ड टेनि सेन्टर निर्माण हुने भएको हो ।
यस्तै सुर्खेतको रानीघाट–भूरिगाउँ सुरूङमार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । यस्तै, सरकारले आगामी बजेट मार्फत सुर्खेतको सुभघाटमा बृहत सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण गर्ने भएको छ ।
सुर्खेतको सुभघाटमा सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरिने भएकोछ ।
यसैबिच, डोल्पामा सुख्खा बन्दरगाहा निर्माणका लागि अध्ययन गर्न बजेट विनियोजन गरिएको छ । पर्यटकहरुको आवागमन गराउन पर्यटकलाई सहज बनाउन सडक निर्माणका साथै कर्णालीको रारा, से फोक्सोन्डो, लिमीलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने बजेटमा वक्तव्यमा उल्लेख गरिएको छ ।
यस्तै, सुर्खेतको रामघाटमा प्रादेशिक बिमानस्थलको निर्माणलाई अगाडी बढाइने पनि बजेटमा समावेश गरिएको छ ।
कर्णाली प्रादेशिक अस्पताल र चौरजहारी अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्ने बजेट भाषणमा समावेश गरिएको छ । यस्तै सरकारले कर्णाली करिडोर र हुम्ला जिल्लाको सदरमुकामसम्म सडक पुर्याइने र सल्यान सुर्खेत सडक स्तरउन्नती गर्न बजेट विनियोजन गरेको छ ।
डोल्पोबुद्ध, लिमीमा नया शहरीकरण विकासका लागि काम शुरुवात गरिने,कर्णाली समृद्धि कार्यक्रम अन्तरगत जुम्लाको सिंजा उपत्यकामा एकिकृत वस्ती विकास आगामी आर्थिक बर्षभित्र गरिनेपनि समावेश गरिएको छ । यसैबिच, सरकारले कर्णालीदेखि कोशीसम्मका नदीहरु जोड्ने बहुउद्देश्यीय सिंचाई परियोजनाको अध्ययन गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको लागि घोषणा भएको बजेटमा कर्णालीदेखि कोशीसम्मका नदी जोड्ने सिंचाई परियोजनाको अध्ययन अघि बढाउने उल्लेख छ ।
यस्तै सरकारले केही पूरानै कार्यक्रमलाई पनि बजेटमा निरन्तरता दिएको छ । जसमा दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गरिने भएको छ । ट्रमा सेन्टर विगतका वर्षमा पनि बजेट भाषणमा समेटिदैँ आएको छ ।
यस्तै, सुर्खेतमा जटिबुडी प्रशोदन लागि उद्योगको स्थापना गर्ने, बहुमुल्य पत्थर प्रशोधन उद्योग सञ्चालनमा ल्याईने जस्ता योजना बजेटमा समेटिएका छन ।