तारा एयरको जहाज दुर्घटनाः २२ मध्ये १४ जनाको शव संकलन गरियो

पोखरा, १६ जेठ (जागरण) । मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको छ ।
जहाजमा सवार कसैलाई पनि जिवित अवस्थामा भेट्न सम्भावना नरहेको अधिकारीहरुले बताएका छन् ।
त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले २२ मध्ये १४ जना यात्रुको शव संकलन भएको जानकारी दिनुभयो ।
उहाले अन्यको खोजीकार्य जारी रहेको भन्दै शव भेटिएकामध्ये केहीको चिनिने अवस्था र केहीको भने क्षतविक्षत अवस्थामा शव भेटिएको छ ।
आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा भेटिएको थियो । स्थानीयले जानकारी गराएपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ । अहिले शव संकलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइने छ ।
हुस्सु र कुहिरोका कारण अझै हेलिकोप्टर राम्रोसँग उड्ने अवस्था नरहेको उहाले बताउनुभयो । चालक दलका तीन सहित २२ जना सवार जहाज पोखराबाट जोमसोमका लागि उडेको थियो ।