कर्णालीमा पाइन रैथाने पोषक खाध्यवस्तु प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया


जागरण
सुर्खेत, १६ जेठ ।
कर्णाली प्रदेशमा पाइने स्थानीय रैथाने पोषक खाध्यवस्तु प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
स्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा सोमबार सरोकारवालाहरुबीचको अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रियामा रैथाने खाध्यवस्तुमा पाइने पोषण, यसको उपयोग र बजारीकरण लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रमुख डा. रविन खड्काले कर्णालीमा पोषणको अवस्था कम्जोर रहेको प्रसंग उल्लेख गर्दै गाउँघरमै पाइने खाद्यवस्तुको सही प्रयोगबाट पोषणको स्थिति सुधार गर्न सकिने बताउनुभयो । साथै रैथाने खाद्यवस्तुमा पाइने पोषण र त्यसको प्रयोगले हुने फाइदाका बारेमा विद्यालय तथा समुदायस्तरमा अन्तरक्रिया गर्न आवश्यक रहेको सुझाव दिनुभयो । सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख बृषबहादुर शाहीले रैथाने खाद्यवस्तुको प्रयोगसम्बन्धी जनेचतना अभिबृद्धि गर्न आवश्यक रहेको औँल्याउनुभयो । जन स्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले आगामी दिनमा समुदायस्तरमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो । अन्तरक्रिया कार्यक्रममा रैथाने खाद्यवस्तुमा पोषण, उत्पादन तथा व्यावसायिकरण लगायतका विषयमा पनि छलफल भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका पोषण कार्यक्रम फोकल पर्सन अमर रानाले जानकारी दिनुभयो ।