जुम्लामा काली मार्सी धान रोपाई शुरु

सुर्खेत, १७ जेठ (जागरण) । जुम्लाको पातारासी गाउँपालिकास्थित भौगोलिक रुपले उच्च स्थानमा धान उत्पादन हुने छुमचौरमा कालीमार्सी धान रोपाइँ सुरु भएको छ ।
त्यहाँ सुधारिएको कालीमार्सी धान रोपिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा रहेको सो स्थानमा आठ प्रकारका कालीमार्सी धान रोपिएको हो ।
कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान रोपिएको थियो ।
चन्दननाथ मन्दिरको शेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाइँ सुरु भएको हो ।
धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिँचाइ सुविधा नभएको र धान रोपाइँ हुने मौसम र पाटनमा यार्सा सङ्कलनको मौसम एउटै पर्ने भएकाले विस्तारै रोपाइँ गर्न छोडिएको थियो ।
कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले २०० रोपनीजतिमा धान रोपेको कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता महताराले बताउनुभयो ।
यसैबिच, जुम्लाका स्थानीय यार्सागुम्बा संकलन गर्न पाटनतर्फ लागेका छन् ।
नागरिकको मुख्य आर्थिक स्रोत यार्सागुम्बा संकलन सिजन सुरू भएपछि जुम्लाका अधिकांस ग्रामिण बस्ती रित्तिएका छन भने पाटन जानेको लर्काे लागेको छ ।
यार्सागुम्बा संकलनको लागि तातोपानी, गुठीचौर, तिला, पातारासीलगायत ग्रामीण क्षेत्रका सर्वसाधारण पाटनतर्फ जाने गरेका छन् ।
१ जेठबाट जुम्ला पातारासी क्षेत्रका युवा मात्रै होइन युवायुवती र वृद्धवृद्धासम्म बच्चा बोकेर पाटनतर्फ लागेका हुन् ।
स्थानीय तह निर्वाचन सकिएलगत्तै सबै युवायुवती, वृद्धवृद्धा पाटनतिर गएको पातारासी गाउँपालिका–२ तल्फिका ५९ वर्षीय भैरब बोहोराले बताउनुभयो ।