एसईई पूरक ग्रेडवृद्धि साउन २३ देखि

सुर्खेत, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘सी’ वा सोभन्दा तलको ग्रेड ल्याउने र बढीमा दुई विषयसम्म अनुपस्थित रहेका वा दुई विषयसम्म ग्रेड उल्लेख नभएका परीक्षार्थीका लागि पूरक ग्रेडवृद्धि परीक्षा लिने भएको छ ।
परीक्षा साउन २३ देखि भदौ २ गतेसम्म हुनेछ । परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको बोर्डले जनाएको छ । साउन २३ गते अनिवार्य अंग्रजीको परीक्षा हुनेछ ।
यस्तै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य वा अनिवार्य अंग्रजीको परीक्षा हुनेछ। २४ गते अनिवार्य नेपालीको परीक्षा तय भएको छ भने २५ गते अनिवार्य गणित र २६ गते अनिवार्य विज्ञानको परीक्षा लिइनेछ ।
वेदविद्ययाश्रमतर्फ २६ गते नै अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको जाँच हुनेछ । २७ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ भने २८ गते अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षाको जाँच हुनेछ ।
वेदविद्याश्रमतर्फ यो दिन अनिवार्य संस्कृत भाषाको परीक्षा तोकिएको छ । २९ गते ऐच्छिक प्रथमका सबै विषय र ३० गते ऐच्छिक द्वितीयका सबै विषयको जाँच हुनेछ । प्राविधिकतर्फका परीक्षा भने साउन २७ देखि सुरु भई भदौ २ गते सकिने बोर्डले निकालेको सूचनामा उल्लेख छ ।

थाहाखबर ।