जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा स्वतन्त्र उम्मेदवार शाही विजयी

दैलेख, २६ जेठ (जागरण) । जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी हुनुभएको छ ।
शाही सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै जिसस प्रमुखमा विजयी हनुभएको हो । निर्वाचित शाहीले १३ मत प्राप्त गर्नुभयो ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट प्रमुखको उम्मेदवार नेपाली कांग्रेसकी दुर्गा कुमारी श्रेष्ठले ९ मत पाउनुभयो ।
स्वतन्त्र उम्मेदवारी दिएर जिसस प्रमुखमा निर्वाचित शाही नेपाली कांग्रेस दैलेखका उपसभापति हुनुहुन्छ ।
उहाले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसले साधारण सदस्य समेत नरहने गरी उहालाई पार्टीबाट निष्कासन गरिसकेको छ । जिसस प्रमुखमा निर्वाचित शाहीलाई एमालेले सहयोग गरेको थियो ।
कर्णाली प्रदेशमा सबैभन्दा धेरै ११ वटा स्थानीय तह रहेको दैलेखमा प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷ उपाध्यक्ष गरी २२ जना मतदाता थिए ।
जिल्ला समन्वय समिति निर्वाचनका लागि एमालेका १०, नेपाली कांग्रेसका ९, माओवादी केन्द्रका २ र समाजवादीका १ जना मतदाताले मतदान गरेका थिए ।
यस्तै, जिल्ला समन्वय समितिको उपप्रमुखमा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार केशवबहादुर शाही निर्वाचित हुनुभएको छ ।
उहाले ११ मत प्राप्त गरेर विजयी हुनुभएको हो । गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार बनेकी एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गर्नुभयो ।
जिल्ला समन्वय समितिको ३ जना महिला सदस्यमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।