एमालेबाट जितेका जनप्रतिनिधिलाई अरु भन्दा उत्कृष्ट काम गर्न कंडेलको निर्देशन

सुर्खेत, २८ जेठ ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई अरु भन्दा उत्कृष्ट काम गर्न निर्देशन दिनुभएको छ ।
नेकपा एमाले जिल्ला कमिटि सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कंडेलले उक्त निर्देशन दिनुभएको हो । विगतभन्दा भिन्न र राम्रो नीति कार्यक्रम र योजना ल्याउन कंडेलले जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो । पार्टीको सिद्धान्त विचार र पार्टी प्रतिको जनताको विश्वासलाई व्यवहारमा परिणत गर्न एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले उत्कृष्ट काम गर्नुपर्ने कंडेलले बताउनुभयो । एमाले जिल्ला कमिटि सुर्खेतले एमालेबाट सुर्खेत जिल्लाका विभिन्न पालिकामा निर्वाचित वडा सदस्य, वडा अध्यक्ष पालिका प्रमुख उपप्रमुख, जिल्ला समन्वय प्रमुखलाई बधाई तथा सम्मान गरेको छ । कार्यक्रममा जिल्ला अध्यक्ष अमृत विसीले एमालेबाट निर्वाचित जनप्रतिनिधिले अरुभन्दा फरक र राम्रो काम गर्नुपर्ने बताउनुभयो । उपाध्यक्ष कुलमणि देवकोटाले जनताको सेवामा तल्लिन भएर लाग्न सुझाव दिनुभयो । सचिव कविन्द्र कुमार केसीले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धि गर्न आवश्यक तालिमको व्यवस्था गर्ने बताउनुभयो ।