कर्णालीका विकट जिल्लामा उडान भर्ने विमानलाई इन्धनमा ‘सहुलियत’ दिने प्रदेश सरकारको योजना

सुर्खेत, २९ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरलाई केन्द्र बनाएर विकट जिल्लामा उडान भर्ने विमानलाई इन्धनमा ‘सहुलियत’ दिने योजना बनाएको छ ।
सुर्खेत विमानस्थलबाट कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्ला र रुकुम पश्चिममा नियमित उडानका लागि बारम्बार सरकारले निजी तथा सरकारी विमान कम्पनीहरूसँग सल्लाह, छलफल गरे पनि विमान कम्पनीले उडान भर्न नमानेपछि समस्या भएको भन्दै कर्णाली सरकारले यस्तो तयारी गरेको हो ।
यसअघि प्रदेश सरकारले ज्येष्ठ नागरिकलाई एक हजार रुपैयाँ ‘सहुलियत’ दिँदै आएको थियो ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले अब सो निर्णय उपलब्धिपूर्ण नभएका कारण इन्धनमा सहुलियत दिने तयारी भएको बताउनुभयो ।
उहाले सरकारले विमान खरिद गरेर सञ्चालन गर्न सकिने अवस्था नभएको भन्दै सुर्खेतबाट अन्य जिल्लामा जानका लागि हवाई सेवा नै नहुने भएकाले बढीमा २० प्रतिशत इन्धनमा सौहुलियत दिएर बिमान संचालनमा प्रोत्साहन गरिने बताउनुभयो । यसका लागि छलफल जारी रहेको उहाले बताउनुभयो ।
उहाले इन्धनका अलावा सरकारले ल्याण्डिङ्ग कर, अन्य करहरू पनि कम गर्ने बारे आवश्यक सल्लाह गर्ने बताउनुभयो ।