खेतीपातीको सिजनमा मल अभाव, किसानहरु चिन्तित

सुर्खेत, ४ असार (जागरण) । खेतीपातिको समयमा कर्णाली प्रदेशमा मल नपाउँदा किसानहरु चिन्तित बनेका छन ।
खेतीपातीको सिजनमा रासायनिक मल (युरिया)को अभाव अझै हट्न नसकेपछि रोपाई शुरु गर्न तरखर भएका किसानहरु चिन्तित बनेका हुन ।
अनुदानको मल बिक्री–वितरणको जिम्मा पाएको पूर्ण सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतको गोदाम खाली छ ।
जेठ र असारमा धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मल विभागमा माग गरेर पठाए पनि अझै आइनपुगेको कम्पनीका प्रादेशिक कार्यालय प्रमुख अमूल्यलाल श्रेष्ठले बताउनुभयो ।
उहाका अनुसार धान रोपाइँको लागि मात्रै युरिया १५ सय मेट्रिक टन, डीएपी पाँच सय मेट्रिक टन र पोटास ५० टन माग गरिएको छ ।
कर्णाली प्रदेशका जिल्लाहरूमा रासायनिक मल बिक्री–वितरण गर्दै आएको कम्पनीसँग यस पटकको रोपाइँ सिजन सुरु भइसक्दा पनि एक बोरा मल छैन । मलको चरम अभाव हुँदा खेतीपातीका काम निकै प्रभावित भएको किसानहरूले बताएका छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कर्णाली प्रदेशका तीन जिल्लामा एक हजार ६० मेट्रिक टन युरिया, ६ सय ८० मेट्रिक टन डीएपी र ७५ टन पोटास खपत भएको थियो ।
सुर्खेत, दैलेख र जाजरकोटमा कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतबाट मल निर्यात हुने गरेको छ ।
यसरी पठाइने मल सहकारी संस्थामार्फत किसानलाई बिक्री–वितरण गरिन्छ । कम्पनीले कर्णालीका आठ जिल्लामा दर्ता भएका एक सय आठ वटा सहकारी संस्थामार्फत मल वितरण गर्छ ।
सल्यान र रूकुम–पश्चिम बाहेकका जिल्लामा कम्पनीको प्रादेशिक कार्यालयबाट मल पठाइँदै आएको छ । कर्णाली प्रदेशका अधिकांश जिल्लामा रासायनिक मल बढी खपत भइरहे पनि हिमाली जिल्लामा भने मलको प्रयोग कम हुने गरेको छ ।