सुर्खेतको एक फार्ममा पालिएका टर्कीमा भेटियो बर्डफ्लु

सुर्खेत, १० असार (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ तातापानीको एक टर्की फार्ममा पालिएका टर्की जातका कुखुरामा बर्डफ्लु संक्रमण भेटिएको छ ।
केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाण्डौमा आज बिहीवरा गरिएको परीक्षणबाट त्यस फर्मको टर्कीमा बर्डफ्लु देखिएको पुष्टि भएको हो । एक सय वटा भन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाण्डौ पठाइएको थियो । पशुपक्षी विकास निर्देशनालय सुर्खेतका प्रमुख प्रचण्ड खड्काले टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको जानकारी दिनुभयो ।
बर्डफ्लु पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर टर्की, कुखुरालाई नष्ट गर्न निर्देशन दिएको छ ।
पशुपक्षी विकास निर्देशनालयले पशु चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि पाँच सय मिटरसम्म क्षेत्रमा पालिएका पक्षीलाई नष्ट गर्ने तयारीमा रहेको जनाएको छ ।
बर्डफ्लु फैलिएको फर्ममा साना–ठूला गरी करिब एक हजार पाँच सय वटा टर्की छन् ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रिजालले वर्डफ्लू फैलिन नदिन जनचेतना तथा अन्य सतर्कता अपनाइएको बताउनुभयो ।