चिङ्गाड गाउँपालिकाले जुलाेजिकल तथा बाेटानिकल खुल्ला पार्क बनाउने


सुर्खेत, १०असार ।
सुर्खेतकाे चिङ्गाड गाउपालिकाले जुलाेजिकल तथा बाेटानिकल खुल्ला पार्क निर्माण गर्ने भएकाे छ ।
गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि शुक्रबार गाउँसभामा प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम र बजेटमा उक्त याेजना अघि सारेकाे हाे । वडा नं ४ मा पर्ने मालिका सामुदायिक वन क्षेत्रलाई खुल्ला जुलाेजिकल तथा बाेटानिकल पार्क निर्माणका लागि संभाव्यता अध्ययन गर्न बजेट बिनियाेजन गरिएकाे छ । जिल्लाकै अग्लाे ठाउँ मालिकादेखि चिङ्गाड खाेलाकाे मुहानकाे रूपमा रहेकाे बुरूसे झरना यही क्षेत्रमा पर्दछ । जैविक विविधताले भरिपूर्ण उक्त क्षेत्रलाई खुल्ला पार्क एवं अध्ययन स्थल र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने याेजना रहेकाे गाउँपालिका अध्यक्ष बाेधबिक्रम जिसीले बताउनुभयाे ।उहाँका अनुसार मालिका क्षेत्रमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने विभिन्न जडीबुटीवनस्पती, जनावर तथा चराचुरूङ्गी पाइन्छन भने चिङ्गाड दराकै जलाधार क्षेत्र रहेकाे छ । सुर्खेत जिल्लाकै जैविक विविधतायुक्त क्षेत्रमा अलग पहिचान रहेकाे बताउदै अध्यक्ष जिसीले उक्त क्षेत्रकाे विकासका लागि प्रदेश सरकार र साझेदारहरूसंग सहकार्य गरेर प्रदेशकै नमूना अध्ययनका लागि पर्यटक आउने स्थल बनाउने साेच रहेकाे बताउनुभयाे । उक्त क्षेत्र सुर्खेत दैलेख र जाजरकाेट जिल्ला जाेडिएकाे त्रिवेणी स्थलका रूपमा समेत परिचित छ । दक्षिणमा सुर्खेतकाे चिङ्गाड, उत्तर पूर्वमा जाजरकाेटकाे शिवालय गाउपालिका, उत्तर पश्चिममा दैलेखकाे भगवतीमाई तथा पश्चिम दक्षिणमा गुँरास गाउँपालिका पर्दछ । तीन जिल्लाकै भक्तालुहरू पुग्ने मालिका मन्दिर पनि यही क्षेत्रमा पर्दछ ।
यस्तै पर्यटन विकासका लागि पालिकाले पर्यटन विकास समिति गठन गर्ने भएकाे छ । एकीकृत पर्यटकीय गुरूयाेजना तयार गरि आवश्यक विकास गर्ने आगामी आवकाे बजेटमा उल्लेख गरिएकाे छ ।
गाउँपालिकाकाे समग्र नीति कार्यक्रम भने उत्पादन, राेजगारी, शिक्षा, स्वास्थ्य,पर्यटनमा केन्द्रित छ । ३९ कराेड ३८ लाख ९६ हजार ८ सय ४० रूपैयाँकाे बजेट गाउँपालिका उपाध्यक्ष मिनाकुमारी राेकायाले गाउँसभामा प्रस्तुत गर्नुभएकाे छ ।