स्थानीय सरकारहरुद्वारा आफ्नो नीति कार्यक्रम र बजेट पेश, वीरेन्द्रनगरले आकासे पुल बनाउने

सुर्खेत, ११ असार (जागरण) । स्थानीय तहहरुले आफ्नो नीति कार्यक्रम र बजेट आज सभामा पेश गरेका छन ।
असार १० गतेभित्र नीति कार्यक्रम र बजेट पेश गरिसक्नुपर्ने संबैधानिक व्यवस्था अनुसार नीति कार्यक्रम र बजेट सार्बजनिक गरेका हुन ।
कर्णालीका ७९ वटा स्थानीय तहमध्य अधिकांसले नीति कार्यक्रम र बजेट पेश गरेको विवरणहरु प्रप्त भएका छन । जसमध्य कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार नगरपालिकाले ११ औं नगर सभा समक्ष नगर प्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
उक्त नीति तथा कार्यक्रममा वीरेन्द्रनगरमा बढी सवारी चाप भएका स्थानहरू मंगलगढी र यरिचोकमा सम्भाव्यता अध्ययन गरि आकाशे पूलको निर्माण गरिने भएको छ ।
यस्तै, नगरका फुटपाथ, साईकललेन, सवारी पार्किङ्ग, रोडमा लाइनिङ्ग, ट्राफिक लाइनिङ्गसमेतको डिजाईन गरि नमुना सडक निर्माण गर्ने कार्यको थालनी, उपत्यकाको खानेपानी समस्यालाई दीगो समाधान गर्न भेरीको पानी लिफ्टीङ्ग आयोजना अगाडि बढाउन संघिय सरकार, प्रदेश सरकार र विकास साझेदारहरु संगको सहकार्य र आर्थिक वर्षदेखि पहूँच मार्ग निर्माण लगायत अति आवश्यक पूर्वाधारका कार्यहरूको शुरूआत गरिने छ ।
यस्तै, नगरपालिकाले आर्थिक वर्ष ०७८÷०७९ का लागि स्वीकृत कर दस्तुरलाई वृद्धि नगरी सोहि दरलाई नै निरन्तरता दिँदै करदाता र करको दायरा विस्तारको नीति तथा करका दरहरुमा आवश्यकता र औचित्यताको आधारमा छुटएवम् सहुलियत दिने नीति लिईने वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका बनाउन आवश्यक पर्ने राजस्वलाई दृष्टिगत गरि रु २७ करोड संकलन गर्ने गरि योजना वनाई पूर्ण कार्यान्वयन गरिने नीतिमा उल्लेख गरिएको छ ।
यस्तै, नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ ।
नगरपालिकाले सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार पाँच सय, चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड २० लाख रुपैयाँको बजेट ल्याएको हो । यो चालु आर्थिक वर्षको भन्दा ३७ करोड ५८ लाख ४९ हजार ९ सय रुपैयाँले बढी बजेट हो ।
नगरसभामा आगामी आवको बजेट प्रस्तुत गर्दै उपप्रमुख निलकण्ठ खनालले शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर भन्ने सोचका साथ बजेट ल्याइएको बताउनुभयो ।
यस्तै, सुर्खेत लेकवेशी नगरपालिकाले आगामी वर्ष २०७९÷८० का लागि ७४ करोड ८७ लाख नौ हजार ५७ रुपियाँ बजेट ल्याएको छ ।
नगर उपप्रमुख विमला खड्लुकका अनुसार नगरपालिकाले चालु खर्चतर्फ ४० करोड २५ लाख ४३ हजार ३६९ रुपियाँ र पूँजीगत तर्फ २९ करोड ९७ लाख ८८ हजार एक सय ९२ रुपियाँ बजेट विनियोजन गरेको छ ।
विकास साझेदार संघसस्थाहरुको कार्यक्रम तर्फ ४ करोड ६३ लाख ७७ हजार ४९६ रुपियाँ बजेट रहेको छ ।
यस्तै, दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकले कृषि तथा पशुपालनको क्षेत्रमा एक वडा एक उत्पादन विशेष कार्यक्रमलाई कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरण गरिने नीति लिएर आर्थिक वर्ष २०७९⁄०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
यस्तै, नगरपालिकाले नगरभीत्रका गर्भवती महिलाहरुलाई टेलिमिडिसिन सेवामार्फत घरमै गएर स्वास्थ्य परीक्षण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
नगर प्रमुख गणेशकुमार शाहीले नगरसभामा बुधबार निति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘दिगो विकासका लागी पुर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र रोजगार,समृद्ध चामुण्डाबिन्द्राशैनी नगर निर्माणको मुल आधार’ भन्ने नाराका साथ योजना अगाडी सारिएको बताउनुभयो ।
यता, कालिकोटको पचालझरना गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को लागी ४२ करोड ९० लाख ४७ हजार ६ सय ९३ रुपैयाँको वजेट ल्याएको छ ।
बुधवार गाउँपालिकाको केन्द्र पडेक्षामा ९ औँ गाउँ सभामा उपाध्यक्ष अल्किना वमले ४२ करोड ९० लाख ४७ हजार ६ सय ९३ रुपैयाँको वजेट सार्वजनिक गर्नुभएको हो ।
आउने नयाँ वजेटमा शिक्षा र स्वास्थ्यमा बढि प्रथामिकता दिदै पुराना जनप्रीय कार्यक्रमलाई निरन्तार्ता दिएर वजेट ल्याइएको प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रबहादुर बमलले बताउनुभयो ।
यस्तै, महावै गाउँपालिकाले २९ करोड ४४ लाख ३६ हजार ६ सय ४० रूपैयाँ वजेट ल्याएको छ ।
यता, सल्यानको कपुरकोट गाउँपालिकामा झण्डै साढे ४५ करोड बराबरको बजेट प्रस्तुत भएको छ ।
एघारौं गाउँसभाको दोश्रो बैठकमा गाउँपालिकाका उपाध्यक्ष एवम बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक प्रकाश भण्डारीले आर्थिक बर्ष २०७९÷०८० को लागि ४५ करोड ४६ लाख ५५ हजार रुपैया बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँसभाका अध्यक्ष दुर्गा बहादुर पुनको अध्यक्षतामा भएको गाउँसभा बैठकमा उपाध्यक्ष भण्डारीले पेश गरेको अनुमानित बजेटमा चालू तर्फ ५२ प्रतिशत र पुजिगत तर्फ ४८ प्रतिशत बिनियोजन गरिएको छ ।
कुल बजेटको २३ करोड ६४ लाख ३५ हजार चालुतर्फ र २१ करोड ८२ लाख २० हजार रुपैया विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।
यसैबिच, नलगाड नगरपालिकाले ६० वर्षमाथिका विधुर पुरुषलाई भत्ता दिने निर्णय गरेको छ ।
बिहीबारको कार्यपालिका बैठकले उक्त निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षदेखि त्यो लागू हुनेगरी उक्त नियम जारी गरिएको छ । पछिल्लो समयमा यहाँ छोराले बुहारी ल्याउने बित्तिकै बुढाबुढीलाई अलग्गै राख्ने प्रचलन बढेको छ । जसले उनीहरू बिचल्लीमा परेको देखिन्छ ।
अहिले एकल महिलासँगै एकल पुरुषले पनि समस्या भोगिरहेका धेरै घटना सार्वजनिक भएका छन् ।