अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । आज बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले राजीनामा दिनुभएको हो ।
बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर गम्भीर गल्ती गरेको आरोप लागेपछि शर्माले राजीनामा दिनुभएको हो ।
उहाँमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो । उहाँले छानबिन समितिलाई सघाउने प्रतिबद्धता पनि जनाउनुभएको छ ।
‘मेरो राजीनामा माग्ने नागरिक समाज, युवा पङ्क्तिलाई धन्यवाद । मैले गल्ती गरेको छैन । तथ्यमा गइदिनुहोला धन्यवाद’, अर्थमन्त्री शर्माले भन्नुभयो ।