प्रदेशभित्र उठाउने करको दायरा पारदर्शी र व्यवस्थित बनाउन सांसदहरुको सुझाव

सुर्खेत, १३ असार (जागरण) । कर्णाली प्रदेशसभाको आजको वैठकमा दुईवटा विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । सैद्धान्तिक छलफलका लागि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पेश गरेका ‘कर्णाली प्रदेश राजस्व तथा गैरकर राजस्वसम्बन्धी विधेयक–२०७५’ र ‘कर्णाली प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापनसम्बन्धी विधेयक–२०७५’ छलफल गरिएको हो ।
राजस्व तथा गैरकर राजस्वसम्बन्धी विधेयकमाथिको छलफलमा सहभागी सांसद्हरुले प्रदेशभित्र उठाउने करको दायरा पारदर्शी र व्यवस्थित हुुनुपर्नेमा जोड् दिएका छन् ।
सांसद् अमरबहादुर थापाले कृषिसम्बन्धी कर निर्धारणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । किसानका नाममा राजस्व छुट दिएर ल्याइएका कृषिसम्बन्धी सामग्रीहरु व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने गरेको भन्दै यसलाई व्यवस्थित गर्न प्रदेश सरकारले उपयुक्त कानून बनाउनुपर्ने उहाँको भनाई छ ।
सोही विधेयकमाथि सांसद् गणेशप्रसाद् सिंहले जनताको प्रतिव्यक्ति आय दर वृद्धि गर्दै सरकारले कर लगाउनुपर्ने बताउनुभयो ।
नागरिकको आयआर्जको स्थिति हेरेर विस्तारै कर बढाउनुपर्ने औँल्याउँदै उहाँले एकैपटक सरकारले जतालाई करको भारी बोकाएमा संघीयताको मर्म्विपरित हुने बताउनुभयो ।
यस्तै, मन्त्री ज्वालाले पेश गरेको ‘कर्णाली प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापनसम्बन्धी विधेयक–२०७५’ माथि पनि सैद्धान्तिक छलफल भएको छ । आजको वैठकमा पेश भएका दुवै विधेयकमाथि संसोधनको सूचना दिन चाहेमा ७२ घण्टाको समय दिइएको छ । संसद वैठक भोली दिउँसो ३ बजे पुनः बस्नेछ ।