सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित पाँचजना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । शुक्रबार दिउँसो चार बजे समयमा प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो । गोप्य सुचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आमा–छोरासहित पाँचजना लागूऔषध कारोबारी रहेका छन् । प्रहरीकाअनुसार वीरेन्द्रनगर नगरपालिका–५ भेटनरी लाईन सुर्खेतबाट स्थानिय ४० वर्षीय सुमित्रा कामीको घरबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सुमित्रा कामीका २३ वर्षीय छोरा रमेश सुनार, वीरेन्द्रनगर नगरपालिका–८ का २१ वर्षीय जिवन मर्साङ्गी मगर, वीरेन्द्रनगर–७ का २६ वर्षीय ललित सिंजाली र वीरेन्द्रनगर–३ का २५ वर्षीय उत्तम शाही रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत डिएसपी सुरज कार्कीले सुमित्रा कामी र रमेश सुनारको घरको एककोठाबाट प्लाष्टिकसहितको एक सय ग्राम ब्राउनसुगर र ७८ हजार एक सय ९० नगद बरामद गरेको जानकारी दिए ।
ढिएसपी कार्कीले अन्य व्यक्तिको साथबाट प्लाष्टिकसहितको आठ सय ८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र लागूऔषध नापतौल गर्ने प्रयोजनको लागि राखेको डिजिटल तराजु एक थान बरामद गरिएको बताए ।

यस्तै, बरामद गरिएको लागूऔषधको खरिद मुल्य दुईलाख पचास हजार हुनसक्ने र विक्रि वितरण मूल्य करिब दशलाख रहेको अनुमान गरिएको र उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सजाय हुने प्रहरीको भनाई रहेको छ ।