कर्णाली प्रदेशमा करिब ८० प्रतिशत मात्र धान रोपाई, मलको अभावका कारण यो बर्ष धान उत्पादन घट्न सक्ने आंकलन

नन्द कठायत ।
सुर्खेत, २७ असार (जागरण) । कर्णाली प्रदेशमा करिब ८० प्रतिशत मात्र धान रोपाइ भएको छ । करिब ४९ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने कर्णालीमा असार २६ सम्म ३० हजार हेक्टर क्षेत्रफल जमिनमा मात्रै रोपाइ सकिएको हो ।
विगतमा यो समयसम्म आईपुग्दा ९५ प्रतिशत रोपाइ हुनेगरे कर्णालीमा यो बर्ष ढिलो गरी प्रि–मनसुन सुरु हुदा विगत भन्दा कम जमिनमा रोपाइ भएको प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेशको कुल खेतियोग्य जमिन २५ लाख २५ हजार २७५ हेक्टर रहेको छ ।
त्यसमध्ये ४९ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । जसमा सबै भन्दा धेरै सुर्खेत जिल्लामा १५ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।
मनसुन नभित्रिएका कारण पनि विगतका बर्षभन्दा यो बर्ष सबै भन्दा कम सुर्खेत ५० प्रतिशत रोपाइ भएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।
आकाशे पानीको भरमा धान रोप्नुपर्ने कर्णाालीका अधिकांश ठाउँमा समेत रोपाइ आधा प्रतिशत सकिएको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार जुम्लामा सत्त प्रतिशत रोपाइ सम्पन्न भइको छ भने सबैभन्दा कम सुर्खेतमा ५० प्रतिशतको हाराहारीमा धान रोपाइ सकिएको निर्देशक रोकायले बताउनुभयो ।
जुम्लामा अन्य जिल्लाको तुलनामा चाडै रोपाइ गरिन्छ । यतिबेला जुम्लामा धानखेती गोडमेल गर्ने समय भएको छ ।
हुम्ला, डोल्पा लगाएतका हिमाली जिल्लामा पनि शतप्रतिशत धान रोपाइ भएका छन् भने अन्य जिल्ला रुकुम पश्चिम, दैलेख, जाजरकोट, सल्यान, कालिकोटमा ८० देखि ८५ प्रतिशतसम्म धान रोपिसकिएको छ ।
लामो खडेरीले खोलानाला सक्दा किसानले समयमै बिउसमेत राख्न नपाएको र मल नपाउँदा उत्पादनमा गिरावट आउने किसानहरुले गुनासो गरेका छन । निर्देशक रोकायले भने प्रदेशमा रासायनिक मलको परिकल्पना नगरेको भन्दै प्राङ्गरिक मलका लागि किसानहरुले गाईवस्तु पाल्न सुझाव दिनुभयो । पछिल्ला दिनमा वर्षा हुन थालेपनि रासायनिक मलको भने प्रदेशमा चरम अभाव कायमै छ ।