आज धान दिवस, मानो रोपेर मुरी उब्जाउने दिन

सुर्खेत, १५ असार । मानो रोपेर मुरी उब्जाउने असार १५ लाई नेपाली किसानहरूले हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोपेर मनाउने परम्परा छ । रोपाइँको निकै चटारो हुने दिनका रूपमा यो दिनलाई लिइन्छ । रोपारले खेत खलियानमा रोपाइँ गर्दागर्दै खाजा खाने समयमा दही च्यूरा खाएर असारे भाखाको गीत गाउँदै शरीर र मनलाई ऊर्जामय बनाउने यो दिनको परम्परा छ । रोपाइँ गर्न नपर्नेले पनि यो दिन घरडेरामा बालबच्चा अभिभावक तथा परिवारका अन्य सदस्यका साथ दहीच्यूरा खाएर असार १५ लाई संस्मरण गरिँदै आएको छ ।
कृषिप्रधान देश भएकाले पनि सरकारले असार १५ लाई धान दिवसको रूपमा मनाउन थालेको छ । सरकारको आह्वानमा धान दिवस तथा रोपाइँ महोत्सव पनि मनाइँदैछ । यही अवसरमा कृषि मन्त्रालय तथा विभिन्न राजनीतिक दलले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्छन् । असार धान रोपाइँकै महिना भए पनि २०६२ सालदेखि असार १५ लाई धान दिवसका रूपमा मनाउन थालिएको हो । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ । संयुक्त राष्ट्र सङ्घले पनि सन् १९६८ लाई भोकमरीबाट मुक्त, भन्ने नारासहित धानबालीलाई वर्ष बालीका रूपमा मनाउने घोषणा गरेको थियो । चयउबष्
असार १५ का रोपार, घोडेजात्राका नेवार, जनैपूर्णिमा र सोह्रश्राद्धका ब्राह्मण, तीजका महिला र महाशिवरात्रिका जोगीलाई यो दिन आफ्नै कामको चटारोमा रहने भएकोले उनीहरूसँग जिस्कने, जिस्काउने गर्नुहुन्न भन्ने पनि मौलिक प्रचलन छ । वर्षा मौसममा असिनपसिन भई काम गर्नुपर्ने र त्यस्तो अवस्थामा शरीरलाइ स्वस्थ र फुर्तिलो राख्न दही र च्यूरा खाने प्रचलन उहिल्यैदेखि रहेको वैद्यराज सुवर्ण वैद्यले बताउनुभयो ।