कर्णाली प्रदेशमा सत्तारुढ दलहरुबीच सहमति, संसद बैठक सुचारु

सुर्खेत, १० साउन । कर्णाली प्रदेशमा सत्तारुढ दलहरुबीच सहमति भएसँगै प्रदेशसभाको बैठक आजबाट सुचारु भएको छ ।
गत मंगलबार प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रले आफूहरुलाई पेल्न खोजिएको भन्दै सदन बहिष्कार गरेको थियो ।
सोमबार राति अबेरसम्म भएको बैठकले सत्ता साझेदारबीच सहमति जुटेसँगै सभा बैठक चलेको हो ।
आजको प्रदेश सभाको बैठकमा नेकपा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले गठबन्धन दलहरुबीच सहमति भएको बताउनुभयो ।
दलहरुबीच समितिलाई नेतृत्व प्रदान गर्ने, विधेयकहरुलाई पारित गर्ने बाटोमा लैजाने र संसदभित्रको दलहरुको बसाई व्यवस्थापन गर्ने मौखिक सहमति भएको बताइएको छ ।
पूर्व मुख्यमन्त्री समेत रहेका शाहीले जनयुद्धका घाइते, अपाङ्गता भएका व्यक्तीहरुलाई भत्ता दिनेगरी अघिल्लो सरकारले नीति कार्यक्रम र बजेटमै उल्लेख गरेको भएपनि कार्यान्वयन नभएपछि आफुहरुले संसद बहिस्कार गर्नुपरेको बताउनुभयो ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले सत्तारुढ दलहरुबीच भएको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
जसमा घाइते, अपांग भएको भन्दै १८ सय बढी निवेदन आएको र सहिद परिवारको नाममा दुई हजार निवेदन आएको बताउँदै जीवन निर्वाह भत्ता वितरणका लागि आवश्यक कानून बनाउने पनि सहमति भएको शाहीले बताउनुभयो ।
मुख्यमन्त्री शाहीले भने २ हजार मासिक दिनेभन्दा एकमुष्ट एक लाख दिन उपयुक्त हुने सुझाव राखेको बताउनुभयो ।
यता, प्रतिपक्ष दल एमाले संसदीय दलका नेता यामलाल कंडेलले सदन चल्नु स्वागतयोग्य भएको तर यसबाट आफूहरुलाई कुनै फरक नपरेको बताउनुभयो ।
कंडेलले कसरी कुन हिसाबमा सहमति भएको भन्नेबारे सत्तारुढ दलहरु नै जानकार भएको बताउनुभयो ।
उहाले संसदमा फेरबदल गर्दा, फरक व्यवस्था गर्दा अझै कमि रहेको बताउनुभयो ।