एमाले कर्णालीको निश्कर्ष: स्थानीय निर्वाचनमा हार्नुमा गठबन्धन, फुट र पार्टी भित्रैको असहयोग


सुर्खेत, ११ साउन ।
नेकपा एमाले कर्णाली प्रदेश कमिटिले गत स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले गरेको गठबन्धन, पार्टी फुट, निर्वाचनमा आकांक्षिहरुको व्यवस्थापन गर्न नसक्नुले पराजय भोग्नुपरेको निश्कर्ष निकालेको छ ।
यही साउन ७ र ८ गते वीरेन्द्रनगरमा सम्पन्न एमाले प्रदेश कमिटि बैठकले स्थानीय तह निर्वाचनबारे समिक्षा गर्दै यस्तो निश्कर्ष निकालेको हो । यस्तै सरकारले सरकारी स्रोत साधनको दुरुपयोग गरेको, उमेदवार चयन र मनोनयमा कम्जोरी भएको र पार्टी भित्रैबाट केही स्थानहरुमा असहयोग हुनुले अपेक्षाकृत नतिजा आउन नसकेको बैठकको निश्कर्ष छ । २०७४ को निर्वाचनमा कर्णालीमा पहिलो पार्टी रहेको एमाले यस पटकको निर्वाचनबाट तेस्रो स्थानमा झरेको छ ।
यस्तै बैठकलले पदाधिकारीसहित ३५ सदस्यीय सचिवालय गठन गरेको छ । मंगलबार हिजो बसेको सचिवालय बैठकले भूगोल, जनसंगठन र विभागको जिम्मेवारी पनि तोकेको छ । जस अन्तर्गत निर्वाचन विभागमा कर्ण बहादुर शाही, पार्टी स्कुल विभाग प्रमुखमा अध्यक्ष विनोद कुमार शाह र उपप्रमुखमा ताराकेशर गौतमलाई जिम्मेवारी दिइएको छ । पचार तथा प्रशारण विभाग प्रमुखमा सूर्यमणि गौतम, वित्त तथा कोष व्यवस्थापन विभागमा टेकराज पछाइ, संगठन विभाग प्रमुखमा लालबहादुर महतारा, सहकारी तथा गरिवि निवारण विभागमा हरिहरनाथ योगी र स्थानीय विकास विभागमा लालबहादुर रावललाई जिम्मेवारी तोकेको छ ।
एमालेले कर्णाली प्रदेशकाअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्र इन्चार्ज, सह–इन्चार्जको जिम्मेवारी पनि तोकेको छ ।
बैठकले दैलेखको गुराँस गाउँपालिकामा करार कर्मचारी हटाउदा नेपाली काँग्रेसका नेताहरुको योजना र प्रत्यक्ष नेतृत्वमा कार्यलयमा आक्रमण गरिएको भन्दै उक्त कार्यको भत्र्सना गरेको छ भने दोषिलाई कारबाही गर्न माग गर्ने निर्णय गरेको छ । महंगीले कर्णालीवासी चरम मारमा परेको भन्दै महंगी नियन्त्रण गर्न र विकट क्षेत्रका लागि विशेष सहुलियतको व्यवस्था गर्न माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै भदौ ९ र १० गते सुर्खेतमा प्रदेशस्तरीय संगठात्मक गोष्ठि आयोजना गर्ने निर्णय गरेको छ। भदौ ११ गते उपाध्यक्ष रामबहादुर थापाको उपस्थितिमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ ।