सुर्खेत, ११ साउन । सुर्खेतको गुटुस्थित स्वास्थ्य चौकी भवन निर्माण थालिएको १३ बर्षसम्म पनि अलपत्र परेको छ ।
छेवैमा बन्न लागेको सुविधा सम्पन्न भवन अलपत्र हुँदा सेवाग्राही र सेवा प्रदायक दुबैलाई अप्ठेरो परेको छ ।
चौकुने गाउँपालिका स्थित गुटु स्वास्थ्य चौकीको निर्माणधिन भवन १३ बर्षदेखि निर्माणाधिन अवस्थामै छ ।
अहिले सानो जस्ता पातालो छाएको घर बाट सेवा दिन बाध्य छन स्वास्थ्यकर्मी । मापदण्ड अनुसार विभिन्न सेवाहरु फरक फरक कोठाहरुबाट दिनुपर्नेमा दुई तीन वटा सेवा एउटै कोठाबाट दिनु परेको स्वास्थ्य चौकी इन्चार्ज इन्द्र बहादुर जैसुरेले बताउनुभयो ।
तत्कालिन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सुर्खेतले आर्थिक वर्ष २०६६÷६७ मा मैनाचुली÷सुरुचि जेभी कम्पनीलाई करीब साढे १४ करोड रुपैयाँ लागतमा स्वास्थ्य चौकी भवन निर्माण ठेक्का दिएको थियो ।
सम्झौता अनुसार भवनको जगमा विम ढलान नगरेको तर सो वापतको रकम दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन शहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतका दुई जना इन्जीनियर र निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले अनियमितता भएको ठहर गर्दै २०७३ सालमा कार्यालयका दुई जना इन्जिनियरको जागिर समेत बर्खास्त फैसला गरेको छ ।
उक्त फैसला बिरुद्ध कम्पनी र इन्जिनियरले सर्वाेच्व अदालतमा निवेदन दिएका छन् । लामोसमयसम्म पनि सर्वाेच्वले उक्त मुद्धाको फैसला नगर्दा स्वास्थ्य चौकी भवन निर्माण कार्य अलपत्र बनेको छ । मुद्धाको फैसला नहुँदा निर्माण सम्पन्न गर्ने वा नयाँ भवन बनाउने भन्ने विषयमा स्थानीय सरकार र अन्य निकाय पनि अन्यौलमा छन् । अदालतले फैसलामा ढिलाई गर्दा नयाँ बनाउने वा त्यसैलाई प्रयोग बनाउने भन्ने विषय अन्यौल रहेको चौकुने गाउँपालिका अध्यक्ष खड्क विश्वकर्माले बताउनुभयो ।
संघीयतापछि तत्कालिन ठेक्का लगाउने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नै अहिले अस्तित्वमा छैन् । उक्त आयोजना अहिले संघीय आयोजना कार्यान्वयन इकाइ मातहतमा आएको छ ।
आयोजना कार्यालय सुर्खेतले अदालतबाट मुद्धाको छिनोफानो गर्न ढिलाई भएकाले कुनै निर्णयमा पुग्न नसकेको आयोजना प्रमुख अमर बहादुर थापाले बताउनुभयो ।
अख्तियारको छानविनबाट अनियमितता र कमसल काम त रोकिएपनि मुद्धाको अन्तिम किनारा लगाउन अदालतले लिएको लामो समयका कारण स्थानीय जनता भने सेवा लिनबाट बञ्चित भएका छन् ।