कर्णालीमा कृषि उत्पादनमा करिब २ प्रतिशतले बृद्धि

सुर्खेत, १४ साउन (जागरण) । आर्थिक वर्ष २०७७÷०७८ मा कर्णालीमा प्रदेश भरप्रमुख कृषि बाली र उत्पादनमा १.८१ प्रतिशतले बृद्धि भएको छ ।
गत आर्थिक वर्षमा यो संख्या ११.२१ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैक सुर्खेत कार्यालयले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७८ मा कर्णाली प्रदेशभरको समग्र कृषि बाली र उत्पादनमा बृद्धि भएको देखाएकोे हो ।
आर्थिक वर्ष २०७७÷०७८ मा बैंकले कर्णालीका १० वटै जिल्लामा गरेको आर्थिक सर्वेक्षणका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा यो आर्थिक वर्षमा प्रदेशभर समग्र कृषि बाली ढाकेको क्षेत्रफल ४.६८ प्रतिशतले बढेको देखाएको छ ।
जसमा खाद्यबाली तथा अन्य बालीले ४.५२ प्रतिशत, तरकारी तथा बागवानी ३.३ प्रतिशत र फलफूल तथा मसलाजन्य बाली ७.५४ प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ ।
चार जिल्ला जुम्ला, मुगु, हुम्ला र डोल्पामा गैरस्थलगत तथा ६ जिल्लाहरु सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुमपश्चिम र कालिकोटमास्थलगत अनुगमनका आधारमा आर्थिक सर्वेक्षण गरिएको थियो ।
जस अनुसार प्रमुख बालीमध्ये धान ०.४० प्रतशतले बृद्धि भएको छ, भने मकै, गहँु र कोदो क्रमश ६.५७ प्रतिशत, ०.२१ प्रतिशत र २.६९ प्रतिशतले बृद्धि हुँदा जौ बाली भने ३.२६ प्रतिशतले घटेको छ ।
यस्तै, यस वर्ष आलु र भटमासको पनि उत्पादनमा बृद्धि भएको छ । आलु ९.९० प्रतिशतले बृद्धि हुँदा भटमास २७.७० प्रतिशले बढेको छ ।
यस्तै तरकारी र फलफूलको उत्पादनमा समेतबृद्धिभएको छ । यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा दुध उत्पादन २६.६५ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षमा यो उत्पादन ३४.९८ प्रतिशतले बढेको थियो ।
मासु र अण्डा उत्पादन क्रमशः ८४.०३ प्रतिशतर ३८.०१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा मासु उत्पादनमा १६.८० प्रतिशतले बृद्धि भएको थियो ।सुर्खेत, दैलेख र सल्यान लगायतका जिल्लाहरुमा युवाहरुको व्यवसायिक पशुपालनप्रति बढेको आकर्षण र सरकारी अनुदानका कारण पशुजन्य उत्पादनमा बृद्धि भएको उल्लेख छ ।
माछा उत्पादनमा १९.४७ प्रतिशतले बढ्दा सबैभन्दा बढि जाजरकोटमा ६ सय मेट्रिक टन माछा उत्पादन भएको छ, भने सबैभन्दा कम जुम्लामा १.५० मेट्रिक टन रहेको छ ।
कुल खेती योग्य जमिन ८३ हजार ९ सय ७९ हेक्टरमध्ये ५९ हजार २ सय ८० हेक्टर क्षेत्रफलमा खेती गरिएको राष्ट्र बैंकको सर्वेक्षणमा उल्लेख छ ।