सुर्खेतमा दैनिक १२ सय क्विन्टल फलफूल र तरकारी आयात हुँदै

सुर्खेत, १६ साउन (जागरण) । कर्णाली प्रदेश राजधानी सुर्खेतमा दैनिक १२ सय क्विन्टल फलफूल र तरकारी आयात हुने गरेको छ ।
आयात हुनेमा ३ सय क्विन्टल फलफूल र तरकारी मध्ये चार सय क्विन्टल आयात हुने गरेको हो ।
यस्तै ६० क्विन्टल अन्य मसालाजन्य सामग्री भित्रिने गरेको छ । लुम्बिनी प्रदेश, भारत र चीनबाट फलफूल र तरकारी दैनिक आयत हुने गरेको कर्णाली प्रदेश कृषि बजार व्यवस्थापन समिति सुर्खेतले जनाएको छ ।
सबै भन्दा बढी आयात हुने तरकारी मध्ये आलु २० टन र प्याज १५ टन भारतबाट आउने गरेको छ ।
स्याउ १६ सय क्विन्टल, केरा २५ टन र बाँकी ९ टन टमाटर, खुर्सानी, भेडे खुर्सानी, मुला, लसुन, काउली र बन्दा दैनिक आयात हुने गरेको कर्णाली प्रदेश कृषि बजार व्यवस्थापन समिति सुर्खेतका व्यवस्थापक केशर रास्कोटीले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
उहाँका अनूसार कर्णालीमा अहिले पनि ६० प्रतिशत फलफूल र तरकारी आयात हुने गरेको छ ।
यता, कर्णाली प्रदेश सरकारले भने अर्गानिक कर्णालीको नाराका साथ वर्षेनी करोडौ बजेट खर्च गर्ने गरेको छ । तर पनि कर्णालीमा तरकारी लुम्बिनी प्रदेश, चीन र भारतमै परनिर्भरता चुलिएको छ ।
प्रदेश कृषि निर्देशनालयका निर्देशक चित्र बहादुर रोकायाले खाद्यन्न, फलफुल, तरकारी उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
त्यस्तै, कर्णालीमा उत्पादन अघिल्ला वर्षहरुको तुलनामा बढे पनि आयात भने घटेको छैन ।
प्रदेशका लागि आवश्यक तरकारी, फलफूल र मसलाजन्य उपजको करिब एक तिहाई भाग मात्र कर्णाली आफैले उत्पादन गर्ने गरेको छ ।
तरकारीमा परनिर्भर हुँदा कर्णालीको उत्पादन ओझेलमा परेको छ, भने उत्पादनमा लाग्ने व्यक्तीहरुको आकर्षण पनि घट्दो क्रममा रहेको छ । तर राष्ट्र बैंकको तथ्याङ्कले भने कर्णालीमा गत बर्षको तुलनामा कृषि उत्पादन करिब २ प्रतिशतले बढेको देखाएको छ ।