कर्णालीमा अपराध अनुसन्धान समिक्षा गोष्ठि


सुर्खेत, १८ साउन ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले अपराध अनुसन्धानमा गत बर्ष गरिएको प्रगति तथा भावी रणनीतिका बारेमा समिक्षा गरेको छ ।
कर्णालीका दशवटै जिल्ला प्रहरी कार्यालयका प्रमुख र अनुसन्धान अधिकारीहरुलाई राखेर बुधबार प्रदेश राजधानी वीरेन्द्रनगरमा अपराध अनुसन्धान समिक्षा गोष्ठि गरिएको हो ।
गोष्ठिको उद्घाटनमा पुगेका कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले अपराध अनुसन्धानमा राजनैतिक लगायत हस्तक्षप हुने गरेको बताउँदै प्रहरीले दावाब र प्रभावमा नपरी अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । ‘मैले अनुभव गरिसकेको छु जब प्रहरी अनुसन्धानका नजिक नजिक पुगेको हुन्छ तब राजनीतिकको पावर प्रयोग गरेर त्यो प्रहरीको तुरुन्त सरुवा गरिन्छ र अपराध लुकाउन खोजिन्छ’ मन्त्री शाहीले भन्नुभयो,‘ प्रहरीले राजनीतिक हस्तक्षेपबाट मुक्त रहेर आत्मसम्मान र निर्भयका साथ अनुसन्धान गर्नुपर्दछ ।’ उनले संघीय सरकारले प्रहरी सम्बन्धी स्पष्ट व्यवस्था नगर्दा प्रहरी संयन्त्र र प्रदेश सरकारबीच काम गर्न अप्ठेरो परेको बताउनुभयो । कर्णाली प्रदेशका केही प्रहरी कार्यालयहरु अझै पनि लुम्बिनी प्रदेशको बाँकेमा रहेको भन्दै ती संरचना तत्काल कर्णाली भित्र ल्याउन पनि संघीय सरकारसंग मन्त्री शाहीले माग गर्नुभएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गतका तालिम केन्द्र, दंगा र कुकुर शाखा अहिले पनि बाँकेमा छन् ।
यस्तै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) पोषराज पोख्रेलले अपराध अनुसन्धानमा एक रुपता कायम गरी कर्णाली प्रदेशमा परिणाममुखी अनुसन्धान बनाउन गोष्ठिले सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
गोष्ठिमा अपराध अनुसन्धान महाशाखाको टोलीसहित कर्णालीका जिल्ला प्रहरी कार्यालय प्रमुख र अनुसन्धान अधिकारीहरुबीच अनुभव आदान प्रदानका साथै आगामी रणनीतिका विषयमा छलफल भएको जनाइएको छ ।