सुर्खेत, २२ साउन । कर्णाली प्रदेशमा परिक्षण गराएका मध्य ५० प्रतिशतमा कोरोना संक्रमण पुष्टी हुन थालेको छ ।
स्वास्थ्य सेवा निर्देशानालयले दिएको जानकारी अनुसार प्रदेशमा पछिल्लो समय परिक्षण गराइएका मध्यमा ५० प्रतिशतमा कोरोना संक्रमण पुष्टी हुन थालेको हो ।
केही दिन अगाडी मात्रै ८ जनाले गराएको पिसिआर परिक्षणमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य सेवा निर्देशनालयले आज आयोजना गरेको सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले कोरोनाका चौथो लहर शुरु हुन थालेको भन्दै सतर्क रहन आग्रह गर्नुभयो ।उहाले अहिले कोरोना परिक्षण गर्न छोडेको भन्दै शंका लागेमा परिक्षण गर्न आग्रह गर्नुभयो ।अहिले प्रदेशमा पर्याप्त कोरोनाका भ्याक्सिन भएपनि खोप लगाउन नागरिकहरुले चासो नदिएको उहाले बताउनुभयो ।
कोरोना खोपकै कारण मृत्यूदर कम भएको उहाको भनाई छ । हालसम्म १ लाख ९७ हजार ३ सय ३८ जनामा कोरोना परिक्षण गरिएकोमा ३९ हजार ९ जनामा संक्रमण पुष्टि भएको छ ।
हाल प्रदेशभर सक्रिय संक्रमितको संख्या १ सय ४३ रहेको छ । कोरोना संक्रमणका कारण हालसम्म प्रदेशभर ३९१ जनाको मृत्यु भएको छ ।
खोप लगाउने आउनै छाडे
प्रदेशभर हालसम्म १० लाखभन्दा बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् ।
आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तसम्म प्रदेशभर १० लाख ७७ हजार ५२८ जनाले पहिलो मात्रा र १० लाख ४६ हजार ७४९ ले दोस्रो मात्रा लगाएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । बुस्टर डोज लगाउनेको संख्या ४ लाख १३ हजार ४६६ छ । तेस्रो मात्रा अर्थात बुस्टर डोज भने लक्ष्यअनुसार दिन नसकिएको निर्देशनालले जनाएको छ ।
पछिल्लो समय खोपप्रति नागरिकले खासै चासो नदिएकाले लक्ष्यअनुसार खोप लगाउन नसकिएको निर्देशनालयले जानकारी दिएको छ ।चेतनाको कमीका कारण खोप लगाउनेको संख्या घट्दै गएको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा. खड्काको भनाइ छ ।
७९ वटै स्थानीय तहमा खोप पु¥याएको भए पनि लक्ष्यअनुसार खोप दिन नसकिएको उहाको भनाई छ ।
स्थानीय तहमा पठाइएको खोप लगाउन नागरिकहरू नआउँदा करिब १० हजार डोज खोप खेर गएको उहाले बताउनुभयो । कुल जनसंख्याको ६८.७ प्रतिशत नागरिकलाई खोपको पहिलो मात्रा दिने लक्ष्य राखिएकोमा लक्षित जनसंख्याको ५९ प्रतिशतले मात्र पहिलो डोज लगाएका छन् भने ६६.८ प्रतिशतलाई दोस्रो मात्रा दिने लक्ष्य राखिएको मा ५७ प्रतिशतले खोप लगाएका छन् ।
प्रदेशभर कोरोनाको दुवै मात्रा १२ देखि १७ वर्ष उमेर समूहकाले लगाएका छन् । यस्तै १२ वर्षभन्दा माथिका ७६ प्रतिशतले पहिलो र ७४ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् । १८ वर्षभन्दामाथिका ७० प्रतिशतले पहिलो मात्रा लगाउँदा ७० प्रतिशतले नै खोपको दोस्रो मात्रा लगाएका छन् ।
पर्याप्त अक्सिजन प्लान्ट, जनशक्तीको अभाव
१० जिल्ला रहेको कर्णालीमा सुर्खेत र जुम्लामा दुईवटा कोभिड हब अस्पताल छन् । कोरोना परीक्षणका लागि ४ वटा पीसीआर ल्याब भए पनि अहिले एउटा मात्र सञ्चालनमा छ ।
जुम्ला, दैलेख र चौरजहारीमा रहेका ल्याब बन्द छन् । एन्टिजेन्ट प्रविधिबाट भने १० वटै जिल्लाहरूमा परीक्षण भइरहेको छ ।
प्रदेशभर १ हजार ८०५ कोभिड आइसोलेसन बेड र ७३ वटा आइसोलेसन वार्ड रहेका छन् । यस्तै सघन उपचार कक्षको संख्या ६८, भेन्टिलेटर १ हजार ८०५, अक्सिजन सिलिन्डर ४९७ अक्सिजन कन्सटेटर र एचडीआईआई युनिट २ सय बेड क्षमताको रहको छ । ७८४ वटा स्वास्थ्य संस्था रहेकोमा प्रदेशभर १६ वटा अक्सिजन प्लान्ट भए पनि ११ वटा मात्र सञ्चालनमा छन् ।
यसैबिच, स्तनपान सप्ताहको अवसरमा स्वास्थ्य सेवा निर्देशनालयले विभिन्न सचेतनाका कार्यक्रम संचालन गरिएको जनाएको छ ।
रोगसँग लड्न सक्ने पहिलो भ्याक्सिन आमाको दुध भएको बताउँदै निर्देशनालयले स्तनपानमा शिक्षित वर्गहरुले समेत ध्यान नदिएको बताएको छ ।
