जागरण संवाददाता
सुर्खेत, १ भदौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले वीरेन्द्रनगर ६ स्थित जन नमूना माध्यामिक विद्यालयले कक्षा ११ मा भर्ना वापत् विद्यार्थीहरुबाट शुल्क लिएको आशंकामा नगद सहित कागजात नियन्त्रणमा लिएको छ ।
अदालतको आदेश विपरित विद्यार्थीबाट भर्ना शुल्क लिएको भन्ने उजुरीका आधारमा बुधबार अख्तियारको टोलीले नगद रु २ लाख ७६ हजार ६९० सहित कागजात नियन्त्रणमा लिएको हो । यसअघि जन नमूना माविलाई विपक्षि बनाइ दिइएको रिटमा उच्च अदालत सुर्खेतले संविधानले व्यवस्था गरेबमोजिम कक्षा १२ सम्म कुनै पनि बहानामा विधार्थीबाट शुल्क नलिन परमादेश थिएको थियो । नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धीको हकको व्यवस्था गरिएको छ । जसको उपधारा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तह सम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ भनी उल्लेख गरिएको छ ।
भर्ना गर्दा रकम असुल गरी बील समेत नदिएको भन्ने उजुरीकाका आधारमा अख्तियारको कार्यालयबाट खटिएको टोलीले कार्यालय सहायक र सूचना सहायकको टेबुलको घर्रा र दराजबाट विनारसिद लिइएको रकम समेत बरामत गरेको छ । साथै नियम विपरित विनारसिद शुल्क असुल गरेका अन्य विद्यालयहरुको समेत छानविन भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिनुभयो ।