आगामी निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने राजनितिक दलको सामुहिक प्रतिवद्धता

सुर्खेत, ५ भदौ । राजनीतिक दलहरुले आसन्न प्रदेश तथा सङ्घको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने सामूहिक प्रतिवद्धता जनाएका छन् ।
समता फाउन्डेसन र साझेदारी सशक्तिकरण केन्द्रद्वारा आज वीरेन्द्रनगरमा सम्पन्न निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सवालसम्बन्धी कार्यक्रममा दलका प्रमुख नेताहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।
दलहरूले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा दलित जनप्रतिनिधिहरुको अनुभव र कामको मुल्याङ्कन गर्दै माथिल्लो पदहरुमा पुग्ने वातावरण सिर्जना गर्ने, दलित समुदायको उपस्थितिलाई प्रभावकारी बनाउन पहल गर्ने, दलित जनप्रतिनिधिलाईबीना रोकटोक काम गर्ने वातावरण बनाउने, पार्टी कार्यकर्ताले जातीय विभेद गरेको पाईएमा दलीय र कानूनी दुवै कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
प्रतिवद्धतापत्रमा नेपाली काङ्गे्रसका कर्णाली प्रदेश उपसभापति कालीबहादुर सहकारी, नेकपा (एकिकृत समाजवादी)का प्रदेश अध्यक्ष अम्मरबहादुर थापा, नेकपा (माओवादी केन्द्र) दलित मुक्ति मोर्चाका प्रदेश अध्यक्ष पार्वती विक, नेकपा (एमाले) का प्रदेश सदस्य टेकेन्द्रकुमार बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।
छलफल कार्यक्रममा बोल्दै काङ्गे्रस प्रदेश उपसभापति सहकारीले पछाडि पारिएका दलित तथा सीमान्तकृत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सबैको इमान्दार प्रयास आवश्यक पर्ने बताउनुभयो ।
एकिकृत समाजवादीका प्रदेश अध्यक्ष थापाले स्थानीय सरकारमा दलित समुदायको सहभागिता आशालाग्दो भएको बताउनुभयो ।
अधिकारकर्मी बसन्त विकले संवैधानिक बाध्यताबाहेक राजनीतिक दलहरुले दलित समुदायको अर्थपूर्ण सहभागिताका लागि चासो नदिएको गुनासो गर्नुभयो ।